१४ असार, काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच पुनः एकताको राजनीतिक बहस चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयपछि एउटै मञ्च साझा गर्ने भएका छन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा आज आइतबार राष्ट्रिय सभा गृहमा आयोजना हुन लागेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विशेष विचार गोष्ठीमा दुवै शीर्ष नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् । वामपन्थी राजनीतिक वृत्तमा यो संयुक्त उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
फाउन्डेसनका कार्यवाहक सचिव भेषराज अधिकारीका अनुसार दिउँसो १ बजे सुरु हुने उक्त वैचारिक कार्यक्रममा ओली र प्रचण्डका अतिरिक्त नेपालको कम्युनिस्ट आन्दोलनका अन्य शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालका साथै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने औपचारिक पुष्टि गरेका छन् भने संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यले पनि प्रचण्डको सहभागिता र समय निश्चित भइसकेको जानकारी दिएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने यस विशेष समारोहमा एक महत्त्वपूर्ण कृतिलाई पुरस्कृत समेत गरिनेछ । जननेता मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतशार्दूल मदन भण्डारीको जीवन’ का लेखक रमेश रुछेन राईलाई सोही मञ्चमा नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

















