Logo

१४ असार, वीरगञ्ज । पछिल्लो समय स्वच्छता र हरियालीमा सुधार ल्याएर चर्चा कमाएको वीरगञ्ज महानगरपालिकामा सरसफाइ कर्मचारीहरूले अचानक आन्दोलन सुरु गरेका छन् ।

न्यूनतम पारिश्रमिक, श्रम अधिकार र प्रशासनिक सुधारको माग राख्दै कर्मचारीहरूले आज आइतबार बिहान वीरगञ्जको  घण्टाघर चोकमै फोहोर थुपारेर प्रदर्शन गरेका हुन् । मुख्य चोकमै फोहोर फ्याँकेर आवागमन अवरुद्ध पारिएपछि महानगरको सरसफाइ व्यवस्थापन प्रभावित बनेको छ ।

आन्दोलनरत सफाइकर्मीहरूले आफूहरूको दैनिक ज्याला कम्तीमा १ हजार रुपैयाँ कायम गरिनुपर्ने र महिनाको कुल ३० हजार रुपैयाँ पारिश्रमिक सुनिश्चित हुनुपर्ने मुख्य माग अघि सारेका छन् । बढ्दो महँगीका कारण हाल पाइरहेको सुबिधाले गुजारा चलाउन धौ-धौ परेको उनीहरूको गुनासो छ ।

सफाइ कर्मचारीहरूले महानगरको ढिलासुस्तीका कारण समयमा पारिश्रमिक नपाउने गरेको भन्दै हरेक महिनाको १० गतेभित्र अनिवार्य रूपमा तलब भुक्तानी हुनुपर्ने सर्त राखेका छन् । यसका साथै उनीहरूले श्रम ऐन अनुसार हप्तामा एक दिन अनिवार्य साप्ताहिक बिदा पाउनुपर्ने र सांस्कृतिक रूपमा ठुला पर्वहरू छठ र होलीमा विशेष बिदाको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

मानवीय संवेदनामा आधारित सेवा सुबिधाको माग गर्दै उनीहरूले कुनै पनि सफाइकर्मीको घरमा परिवारका सदस्यको मृत्यु भएमा वा विवाह कार्य परेमा तत्काल १० हजार रुपैयाँ पेस्की (एडभान्स) पाउने व्यवस्था हुनुपर्ने बताएका छन् । कार्यक्षेत्रमा पहिचान र सुरक्षाका लागि महानगरले सबै सरसफाइ कर्मचारीहरूलाई पोसाक (ड्रेस) र आधिकारिक परिचयपत्र तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

आन्दोलनका क्रममा सरसफाइ कर्मचारीहरूले महानगरको आन्तरिक व्यवस्थापनभित्र झाँगिएको गम्भीर आर्थिक अनियमितता र श्रम शोषणको विषय समेत बाहिर ल्याएका छन् । सफाइ कार्यको कमान्ड सम्हाल्ने ‘नाइके’ (सुपरभाइजर) हरूको मनोमानी र घुसखोरी विरुद्ध कर्मचारीहरूले आक्रोश पोखेका छन् ।

“कुनै पनि सफाइकर्मीलाई स-साना र झुटो आरोप लगाएर कामबाट निकाल्ने, अनि १० दिनपछि तिनै नाइकेहरूले केहि रकम घुस लिएर पुनः काममा फर्काउने खेल भइरहेको छ,” आन्दोलनमा सहभागी एक सफाइकर्मीले दुखेसो पोखे । उनीहरूले सोझा कर्मचारीलाई त्रसित बनाएर रकम असुल्ने र जागिर खाइदिने धम्की दिने त्यस्ता भ्रष्ट नाइकेहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न महानगर नेतृत्वसँग जोडदार माग गरेका छन् ।

यता, वीरगञ्जको मुटु मानिने घण्टाघर चोकमै फोहोरको थुप्रो लागेपछि दुर्गन्ध फैलिने जोखिम बढेको छ । महानगरपालिका कार्यालयले भने आन्दोलनरत पक्षसँग संवाद गरी मागहरूका विषयमा आवश्यक छलफल र सहमति खोजेर तत्काल फोहोर उठाइने तथा बजार व्यवस्थित गरिने जनाएको छ ।


सम्बन्धित समाचार