१७ असार, वीरगञ्ज । वीरगञ्जको पावरहाउसस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुत्केरी गराउन भर्ना भएकी एक महिलाको अवस्था गम्भीर बनेपछि अस्पताल र पीडित पक्षबीच तनाव सिर्जना भएको छ ।
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा निवासी चन्दन कुमार साहकी ३२ वर्षीया श्रीमती ईन्दु देवी साहको स्वास्थ्य अवस्था मङ्गलवार साँझदेखि चिन्ताजनक बनेको हो ।
गोल्ड मेडलिस्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तरनुम खातुनको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको भनिए पनि चिकित्सकको गम्भीर लापरवाहीका कारण बिरामीको यो अवस्था भएको परिवारजनले आरोप लगाएका छन् ।
बिरामीका श्रीमान् चन्दन कुमार साहका अनुसार ईन्दु देवीको स्वास्थ्य अवस्था सामान्य नै थियो । उनी नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार साँझ ७:३० बजे डा. तरनुम खातुनको निजी क्लिनिकमा पुगेकी थिइन् ।
चिकित्सकले ४० हप्ताको गर्भ अवधिको समयभन्दा ४ दिन बढी भइसकेको भन्दै अस्पताल भर्ना हुन सुझाव दिएपछि उनलाई तराई हस्पिटलमा भर्ना गरिएको थियो । मङ्गलवार बिहान ३:४५ बजे सामान्य (नर्मल) डेलिभरीमार्फत ३ किलो ८ सय ग्रामकी छोरीको जन्म भएको थियो । तर, सुत्केरी भएलगत्तै ईन्दुको स्वास्थ्य अवस्था अचानक बिग्रिन थाल्यो । नवजात शिशुको अवस्था सामान्य रहे पनि ईन्दुको अत्यधिक रक्तस्राव सुरु भएपछि उनलाई आइसियु र पछि भेन्टिलेटरमा सारिएको थियो ।
यता श्रीमान् चन्दन साहले अस्पताल प्रशासनले बिरामीको वास्तविक अवस्था लुकाउन खोजेको र उपचारमा चरम लापरवाही गरेको आरोप लगाएका छन् । “मङ्गलबार सवा ४ बजे नै श्रीमतीको मृत्यु भइसकेको हाम्रो आशङ्का छ, तर अस्पतालले पैसा असुल्ने चक्करमा विना सल्लाह भेन्टिलेटरमा राखेर नाटक गरिरहेको छ,” चन्दनले आक्रोश पोखे ।
उनका अनुसार अपरेशन वा जटिलताबारे परिवारको कुनै मञ्जुरी लिइएको थिएन र भित्र कुनै नशा काटिएको आशङ्का छ । बिरामीको अवस्था नाजुक हुँदा जिम्मेवार चिकित्सक प्रत्यक्ष उपचारमा खटिनुको साटो नर्स र कम्पाउन्डरको भरमा छाडेर निजी क्लिनिकमा व्यस्त रहेको पीडित पक्षको आरोप छ ।
थप उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको तयारी गर्न खोज्दा समेत चिकित्सक उपलब्ध नभएको र अस्पतालका कर्मचारीले बिरामीले ‘सर्भाइभ’ गर्न नसक्ने जवाफ दिएको उनीहरूले बताए । हालसम्म उपचारमा करिब एक लाख रुपैयाँ खर्च भइसकेको जनाउँदै परिवारले घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
यता, आरोपित चिकित्सक डा. तरनुम खातुनले भने अस्पताल र आफूबाट कुनै लापरवाही नभएको दाबी गरेकी छन् । उनले भनिन्, “बिरामीको रगतमा हेमोग्लोबिन र प्लेटलेट्सको मात्रा अत्यन्त कम थियो । डेलिभरीका क्रममा आन्तरिक चोट (इन्टर्नल इन्जुरी) का कारण अत्यधिक रक्तस्राव भएको हो । हामीले बचाउन हरसम्भव प्रयास गरिरहेका छौँ।” उनले यो समस्या ‘एम्बोलिजम’ का कारण हुनसक्ने दाबी गर्दै आगामी ७२ घण्टापछि मात्र वास्तविक अवस्थाबारे स्पष्ट भन्न सकिने बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले बिरामीको मृत्यु नभएको र अस्पतालमा उपचार जारी रहेको पुष्टि गरेका छन् ।
बिहान परिवारजनलाई बुझ्दा अहिले अस्पतालमै उपचार जारी रहेको पीडितका आफन्त संजय साहले बताए । मंगलबार सांझा स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जनाउँदै उनले अस्पताल प्रशासन र बिरामीका आफन्तहरूबीच सामान्य विवाद मात्र भएको र थप कुरा उपचारको परिणामपछि स्पष्ट हुने जानकारी दिए ।
तराई हस्पिटल र डा. तरनुम खातुन यसअघि पनि स्थानीय स्तर र सामाजिक सञ्जालमा उपचारमा लापरवाही गरेको भन्दै विभिन्न विवादमा तानिँदै आएकी छन् ।



















