१७ असार, चितवन । जैविक विविधता र वन्यजन्तु अवलोकनका लागि प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जभित्रको लोकप्रिय जङ्गल सफारी सेवा आजदेखि पूर्ण रूपमा बन्द हुने भएको छ । निकुञ्ज प्रशासनले वर्षातको समयमा आउने बाढी, हिलो र प्राकृतिक अवरोधका कारण पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै निकुञ्जभित्रका मार्गहरूमा सफारी बन्द गर्ने निर्णय गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निकुञ्जभित्रका सबै व्यावसायिक जीप सफारी सेवाहरू स्थगित गरिएका छन् । वर्षायाममा सफारी रोक्नुको पछाडि पर्यटकीय असहजता मात्र नभई वन्यजन्तुको प्राकृतिक वासस्थान र प्रजनन् चक्रको संवेदनशीलता समेत जोडिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
सूचना अधिकारी थापामगरले भने, “वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन्का लागि वर्षायाम सबैभन्दा उपयुक्त र संवेदनशील समय हो । यसका साथै निरन्तरको वर्षाले निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स-साना खोलाखोल्सीमा अचानक भलबाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुने हुँदा पर्यटकको सुरक्षाका लागि सफारी बन्द गरेका हौँ।”
चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक सन्तुलन र सुरक्षाका लागि हरेक वर्ष वर्षात्को समयमा यसै गरी सफारी सेवा बन्द गर्दै आएको छ । विगतको परम्परा र अभ्यास अनुसार मनसुनको अन्त्य र वर्षात्को अवस्था हेरेर आगामी दसैँको आसपासबाट मात्रै निकुञ्जभित्रको सफारी पुनः सुचारु गरिनेछ ।
निकुञ्जको भित्री कोर क्षेत्रमा हुने सफारी रोकिएको भए पनि निकुञ्ज बाहिरका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनहरूमा हुने जङ्गल सफारी भने यथावत् रहने निकुञ्जले स्पष्ट पारेको छ । यसले गर्दा चितवन घुम्न आउने पर्यटकले वैकल्पिक रूपमा सामुदायिक वनमा गएर गैँडा, बाघ लगायतका वन्यजन्तु हेर्न पाउनेछन् ।
चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न नाकाहरूबाट व्यावसायिक जीप सफारीका लागि दैनिक सयौँ पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् ।


















