१७ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा क्षेत्रमा हुने विकृति र गैरस्वास्थ्यकर्मीहरूको अवैध बिगबिगीलाई रोक्न एउटा ठुलो कदम चालेको छ ।
काउन्सिलको बोर्ड बैठकले आधुनिक चिकित्सा क्षेत्रको नियमनलाई कसिलो बनाउने उद्देश्यका साथ ‘अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि २०८३’ जारी गरेको हो । यो नयाँ नियम लागू भएसँगै अब आधिकारिक रूपमा योग्यता नपुगेका र दर्ता नभएकागैरस्वास्थ्यकर्मीहरूले आफ्नो नामको अगाडि ‘डाक्टर’ लेखेर आधुनिक चिकित्सा वा उपचारको अभ्यास गर्न पूर्ण रूपमा बन्देज लागेको छ ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार यो कार्यविधिले समग्र चिकित्सा क्षेत्रलाई थप उत्तरदायी र मजबुत बनाउनेछ भने आचारसंहिता उल्लङ्घन गर्ने चिकित्सकहरूलाई समेत कारबाहीको दायरामा ल्याउनेछ । यस कार्यविधिले अवैध चिकित्सकीय अभ्यासलाई प्रस्टसँग परिभाषित गर्दै बिरामी ठग्ने गिरोहमाथि अंकुश लगाउन खोजेको देखिन्छ ।
अब स्वास्थ्य सम्बन्धित व्यावसायिक परिषद्मा दर्ता नभई वा दर्ता भएर पनि आफ्नो तोकिएको कार्यक्षेत्र भन्दा बाहिर गएर उपचार गराएमा त्यसलाई सिधै अवैध मानिनेछ ।
यसैगरी, आधिकारिक निकायबाट अनुमति नपाई भ्रम फैलाउने नियतले ‘डाक्टर’, ‘डिग्री’, वा ‘लाइसेन्स’ जस्ता उपाधि प्रयोग गर्न पाइनेछैन। आधुनिक चिकित्साको नाममा अवैज्ञानिक, अप्रमाणित र भ्रामक उपचार गर्ने, शल्यक्रिया गर्ने, स्वास्थ्यका नाममा अतिरञ्जित विज्ञापन गर्ने तथा नक्कली मेडिकल प्रमाणपत्र वा प्रेस्क्रिप्सन जारी गर्ने जस्ता गम्भीर अपराधहरूलाई पनि यसै कार्यविधि अन्तर्गत कडा कारबाहीको दायरामा समेटिएको छ ।


















