Logo

१७ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ अन्तर्गत ईटियाही टोलमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बुधबार भवनको छत ढलान कार्य सम्पन्न भएसँगै निर्माण कार्य समापनतर्फ उन्मुख भएको हो।

संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशको बजेट तथा आफ्नो पहलमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो। भवन निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले आफ्नै टोल नजिकबाट आधारभूत स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने र स्वास्थ्य सेवाको पहुँच अझ प्रभावकारी बन्ने विश्वास उनले व्यक्त गरे।

छत ढलान कार्यअघि उपाध्यक्ष यादवले विधिपूर्वक पूजा–अर्चना गरी ढलान कार्यको शुभारम्भ गरेका थिए। सो अवसरमा नेकपा एमालेका नेता अमल यादव, वडा सदस्य तथा एमाले इकाइ कमिटी अध्यक्ष लालबाबु यादव, युवा नेता मनोज यादवसहित स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपाध्यक्ष यादवका अनुसार स्वास्थ्य चौकी भवन निर्माणका लागि कुल १५ लाख रुपैयाँ खर्च भएको छ। निर्माण कार्य सम्पन्न भएपछि भवन आवश्यक उपकरण तथा जनशक्तिसहित सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ।

स्थानीयवासीले स्वास्थ्य चौकी भवन निर्माणलाई क्षेत्रको स्वास्थ्य पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। भवन सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, खोप सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायतका आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै