Logo

१८ असार, काठमाडौं । काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारले आगामी साउन १ गतेदेखि ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअनुसार अघि बढाइएको यो योजनाअन्तर्गत पहिलो चरणमा उपत्यकामा आठवटा विशेष बसहरू गुड्ने भएका हुन् । पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार, पहिलो १०० दिनभित्र देशभर कुल २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

बस सञ्चालनको मोडालिटीबारे साझा यातायातले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको छ । अर्थ मन्त्रालयबाट आवश्यक सहमति प्राप्त हुनेबित्तिकै सेवा औपचारिक रूपमा सुरु हुनेछ । मन्त्रालयले सार्वजनिक गरेको रुट तालिकाअनुसार, लगनखेल–बुढानीलकण्ठ र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई-दुईवटा बस सञ्चालन हुनेछन् ।

त्यस्तै, चक्रपथ (रिङरोड) क्षेत्रमा चारवटा बसलाई क्लकवाइज र एन्टिक्लकवाइज दिशामा घुमाएर सञ्चालन गरिने योजना छ ।  महिलाको सुरक्षित र मर्यादित आवागमनलाई विशेष प्राथमिकता दिएको यस सेवाले उपत्यकाको सार्वजनिक यातायातमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै