१८ असार,वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–९, प्रिपरा बिर्तामा बिहीबार साँझ चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
बिहीबार साँझ करिब ५:०० बजे आफ्नै खेतबाट घर फर्कने क्रममा अचानक चट्याङ पर्दा स्थानीय कपिल देव साहकी करिब १२ वर्षीया छोरी सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा सोही स्थानका मन्टु दासकी करिब ३० वर्षीया श्रीमती सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। सामान्य उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी साँझ ९:०४ बजे प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाबाट प्रहरी निरीक्षक बिमल खतीवडाको कमाण्डमा सोको (SOCO) टोली तथा प्रहरी चौकी तेलकुवाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी टोली कार्यालय फर्किएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















