२० असार, धनगढी । कैलालीमा एक युवती आफ्नै घरको सिँढी (भर्याङ) मा शङ्कास्पद रूपमा मृत अवस्थामा फेला परेकी छन् । कैलालीको कैलारी गाउँपालिका–५ पवेरा बस्ने अन्दाजी ३५ वर्षीया सजिना माझी आफ्नै निवासको सिँढीमा मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार राति ढिलोगरी उनी घरको सिँढीमा अचेत अवस्थामा पल्टिएको फेला परेकी थिइन् । तत्कालै घरपरिवार र स्थानीयले खबर गरेपछि प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।
युवतीको मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । सिँढीबाट लडेर वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्नेबारे प्राविधिक र मेडिकल रिपोर्ट पर्खिरहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति शङ्कास्पद देखिएकाले प्रहरीले स्थानीय तथा परिवारका सदस्यहरूसँग सोधपुछ गर्नुका साथै घटनाबारे सुक्ष्म ढङ्गले थप अनुसन्धान अघि बढाएको छ ।



















