Logo

२१ असार, काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्दै गएको आरोप लगाएकी छिन्। नेपाल पत्रकार महासङ्घद्वारा आइतबार ललितपुरमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सरकारको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण सङ्कुचित बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी हुन् ।

नेपालको संविधानले स्पष्ट रूपमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चितता गरेको भए पनि नयाँ सरकार गठन भएको सय दिन बितिसक्दा समेत प्रेसप्रति हेर्ने नजरमा कुनै सकारात्मक परिवर्तन आउन नसकेको उनको टिप्पणी थियो ।

अध्यक्ष शर्माले पछिल्लो समय पत्रकारहरूको सूचनामा पहुँचलाई नियन्त्रण र सीमित गर्न राज्य संयन्त्र नै लागिपरेको आरोप लगाइन्। “सिंहदरबारका मन्त्रालयहरूमा पत्रकार पुग्न सक्ने सामर्थ्य भए पनि देशको मुख्य प्रशासनिक केन्द्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल ढोका (गेट) सम्म पनि पत्रकारहरूलाई सहजै जान नदिने अवस्था सिर्जना गरिएको छ,” अध्यक्ष शर्माले भनिन्, “प्रेसलाई सूचनाबाट टाढा राख्ने यस्तो प्रयास लोकतान्त्रिक व्यवस्था सुहाउँदो होइन।”

मन्त्रालयहरू मात्र नभई जनताको आवाज मुखरित हुने संसदीय समितिहरूमा समेत पत्रकारहरूलाई सहज र स्वतन्त्र रूपमा प्रवेश गर्न नदिने वातावरण बनाइएको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।

अध्यक्ष शर्माले सरकारले प्रत्यक्ष रूपमा भन्दा पनि आर्थिक च्यानल र विज्ञापनका केन्द्रहरूमार्फत सञ्चारमाध्यम र प्रेसलाई अप्रत्यक्ष नियन्त्रण (सेन्सरसिप) गर्ने रणनीति अख्तियार गरेको दाबी गरिन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्म भनेकै नागरिकका तर्फबाट सूचना माग्ने, सूचना प्राप्त गर्ने र तथ्यको परीक्षण तथा यकिन गरेर मात्रै समाचार सामग्री प्रकाशन वा प्रसारण गर्नु रहेको उल्लेख गर्दै उनले वर्तमान सरकार संवैधानिक मर्म विपरित उभिएको जिकिर गरिन् । महासङ्घले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको अधिकार रक्षाका लागि राज्यको यस्तो सङ्कुचित व्यवहारविरुद्ध थप सचेत र सङ्गठित भएर आवाज उठाउने स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार