२१ असार, काठमाडौँ । धादिङको गंगाजमुना गाउँपालिकामा पारिवारिक विवादका क्रममा छोराले आफ्नै बाबुमाथि छड प्रहार गर्दा उनको ज्यान गएको छ । गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार भएको उक्त घरेलु हिंसाको घटनामा ६४ वर्षीय धनबहादुर सुनारको ज्यान गएको हो ।
उनकै ३० वर्षीय छोरा सुजन सुनारले विवादका क्रममा धारिलो फलामे छड प्रहार गरी बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काका अनुसार शनिबार घरमै बाबु-छोराबीच सामान्य विषयमा विवाद सुरु भएको थियो । विवादले उग्र रूप लिएपछि केही समयदेखि मानसिक स्वास्थ्य समस्याको उपचार गराइरहेका सुजनले बाबु धनबहादुरमाथि धारिलो छडले जथाभाबी प्रहार गरेका थिए ।
छड प्रहारबाट धनबहादुर घरमै रक्ताम्मे भई गम्भीर घाइते भएका थिए । घटनालगत्तै स्थानीय बासिन्दाहरू एकजुट भई आरोपित सुजनलाई नियन्त्रणमा लिएका थिए भने घाइते धनबहादुरलाई तत्काल उपचारका लागि फुलखर्क प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । तर, स्वास्थ्य केन्द्रका चिकित्सकले उनलाई परीक्षण गरेलगत्तै मृत घोषणा गरिदिए ।
स्थानीयले नियन्त्रणमा लिएका सुजनलाई घटनास्थल पुगेको प्रहरी टोलीको जिम्मा लगाइएको थियो । प्रहरीले आरोपित सुजनलाई हिरासतमा लिनुका साथै हत्यामा प्रयोग भएको धारिलो फलामे छड समेत बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धान र पारिवारिक स्रोतका अनुसार अभियुक्त सुजन विगत केही समयदेखि मानसिक रोगको औषधि सेवन गरिरहेका व्यक्ति हुन् । मानसिक असन्तुलनकै झोकमा उनले बाबुमाथि प्रहार गरेको देखिए पनि घटनाको यथार्थ बुझ्न इलाका प्रहरी कार्यालय र जिल्लाको संयुक्त टोलीले कानुनी प्रक्रिया अगाडि बढाउँदै सुक्ष्म अनुसन्धान सुरु गरेको एसपी खड्काले जानकारी दिए । मृत धनबहादुरको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको छ ।


















