२० असार,वीरगञ्ज । वैदेशिक रोजगारीका लागि विदेश गएका पर्साका एक युवकको अस्ट्रेलियामा मृत्यु भएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको भन्दै परिवारले सरकारसँग तत्काल पहल गर्न आग्रह गरेको छ।
पर्साको पर्सागढी नगरपालिका–७ बागेश्वरी निवासी २९ वर्षीय राकेश पटेलको अस्ट्रेलियामा मृत्यु भएको तीन महिना बितिसक्दा पनि पार्थिव शरीर स्वदेश ल्याउन नसकिएको उनका बुबा बिर्जा राउत कुर्मीले बताएका छन्।
उनका अनुसार चैत २२ गते इन्टरपोलमार्फत छोराको मृत्यु भएको जानकारी प्राप्त भएपछि परिवार परराष्ट्र मन्त्रालय पुगेको थियो। मन्त्रालयबाट राकेशले आत्महत्या गरेको प्रारम्भिक जानकारी दिइएको उनले बताए।
बिर्जा राउत कुर्मीका अनुसार छोरासँग चैत २० गते साँझ करिब ४ बजे अन्तिम पटक कुराकानी भएको थियो। सोही दिन उनको मृत्यु भएको अनुमान गरिएको छ।
राकेश करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। पछि उनी अस्ट्रेलिया पुगेको जानकारी परिवारलाई दिएका थिए। परिवारका अनुसार पछिल्लो करिब छ महिनादेखि उनले नियमित तलब नपाएको गुनासो गर्दै आएका थिए। साथै, अस्ट्रेलियामा घर र गाडी खरिद गरेको जानकारीसमेत परिवारलाई दिएका थिए।
परिवारले राकेशको मृत्युको वास्तविक कारणबारे स्पष्ट जानकारी उपलब्ध गराउन र पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याइदिन सरकारसँग माग गरेको छ। शोकमा रहेको परिवारले ढिलाइ नगरी आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
संसदमा पनि उठ्यो विषय
पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले बिहीबार प्रतिनिधिसभा बैठकमा राकेश पटेलको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद कानुले वैदेशिक रोजगारीका क्रममा अस्ट्रेलियामा रहेका पटेलको मृत्यु भएको लामो समय बितिसक्दा पनि शव स्वदेश ल्याउन नसकिएको भन्दै परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्न आग्रह गरे।
उनले राकेश पटेलको मृत्यु सम्बन्धी विवरण वैशाख २३ गते नै परराष्ट्र मन्त्रालयमा दर्ता गराइसकिएको भए पनि हालसम्म पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया पूरा हुन नसकेको भन्दै सरकारलाई तत्काल कूटनीतिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।


















