२० असार,काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम उपलब्ध गराएको छ।
सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णयअनुसार विस्थापित परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको जानकारी दिइयो।
सरकारका अनुसार गत जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले राहत उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै हालसम्म ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको हो।
सहरी विकास मन्त्रालयले गत वैशाख ११ गते गरेको निर्णयअनुसार काठमाडौंका १७ वटा सुकुमवासी बस्तीबाट कुल दुई हजार ६०८ परिवार विस्थापित भएका थिए।
तीमध्ये ३८८ परिवारलाई सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’मा अस्थायी रूपमा व्यवस्थापन गरेको जनाएको छ। बाँकी दुई हजार २२० परिवार भने हालसम्म होल्डिङ सेन्टरबाहिर नै बसोबास गरिरहेका छन्।
सरकारले विस्थापित परिवारको व्यवस्थापन तथा राहत वितरणलाई चरणबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ।



















