२० असार,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिनमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सरकारका १०० दिने उपलब्धिबारे जानकारी दिएका हुन्।
प्रवक्ता पोखरेलका अनुसार सरकारको पहिलो प्रमुख उपलब्धिका रूपमा सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गरिएको छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको संख्या कटौती गरिएको बताए।
उनका अनुसार मन्त्रालयको संख्या घटाइएपछि राज्यकोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ। सरकारको यो कदमले प्रशासनिक खर्च घटाउनुका साथै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
यसका साथै विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजनमार्फत खर्च कटौती गरी कार्यक्षमता अभिवृद्धि गर्ने काम पनि अघि बढाइएको प्रवक्ता पोखरेलले बताए।
उनले राजनीतिक दलनिकट ट्रेड युनियन तथा विद्यार्थी संगठन खारेजीलगायतका सुधारात्मक निर्णयले प्रशासनिक सुधार र सुशासनतर्फ सकारात्मक सन्देश गएको दाबी गरे।
सरकारले आगामी दिनमा पनि सार्वजनिक प्रशासनलाई थप चुस्त, मितव्ययी र परिणाममुखी बनाउने उद्देश्यसहित सुधारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



















