२१ असार, काठमाडौँ । हिमाली जिल्ला डोल्पामा राति आएको विनाशकारी बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति अविरल वर्षासँगै आएको बाढीले रैथाने बस्ती बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार धुलाखोला तथा आसपासका खहरे खोलाहरूबाट बगेर आएको लेदो र हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजेको समयमा अचानक गाउँमा पसेको थियो ।
बाढीको चपेटामा परेर गम्भीर घाइते भएकी आनन्दी विकलाई तत्कालै स्थानीय र सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो । उनलाई आपत्कालीन उपचारका लागि स्थानीय स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मध्यराति आएको बाढीले मानिसहरूलाई करिब १५ देखि १६ मिटर टाढासम्म बगाएर लगेको थियो। ढुङ्गा र लेदोसहितको बाढीमा पछारिँदा घाइतेहरूको ढाड, टाउको, हातखुट्टा लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
बाढीमा परी सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन् । उनीहरूको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ।
घाइतेमध्ये ४४ वर्षीया रेउली विकको अवस्था अत्यधिक चिन्ताजनक रहेकाले उनलाई थप र सघन उपचारका लागि छिमेकी जिल्ला जुम्ला रेफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनसाथ राति नै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएर स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको थियो । भौगोलिक विकटता र खराब मौसमका बाबजुद बिहानैदेखि थप उद्धार र राहतका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा थप टोली, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जनाको विशेष उद्धार टोली बिहानै घटनास्थल पुगेर कार्य गरिरहेको छ । बाढीले पुर्याएको भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने र विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी रहेको प्रशासनले जनाएको छ ।



















