Logo

२१ असार, चितवन । रात गहिरिँदै थियो । भरतपुर महानगरपालिका–२३ बेलहट्टाको बोटे बस्ती निद्रामै थियो । २१ वर्षीया अशिका बोटे आफ्ना ४ वर्षीय छोरा भरतलाई काखमा च्यापेर सुतिरहेकी थिइन् । तर त्यो रात उनीहरूका लागि अन्तिम रात बन्यो ।

जंगलबाट निस्किएको जंगली हात्ती बस्तीमा पस्यो । केही क्षणमै एउटा घर भत्कियो, एउटा परिवार उजाडियो र एउटा बालकको भविष्य सधैंका लागि समाप्त भयो । विहान हुँदा बेलहट्टामा दुई शव थिए, तर प्रश्न उही थियो-निकुञ्ज आसपासका नागरिकले कहिलेसम्म यस्तो मृत्यु भोगिरहनुपर्ने ?

यो घटना केवल एक आमा र छोराको मृत्युको समाचार होइन । यो मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राज्यको असफलताको अर्को दर्दनाक दस्तावेज हो ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालको गौरव हो । गैँडा, बाघ र जैविक विविधताका कारण विश्वभर परिचित छ । तर निकुञ्जको सीमासँग जोडिएका बस्तीका लागि यही संरक्षण कहिलेकाहीँ अभिशापजस्तै बनेको छ ।

बेलहट्टा, मेघौली, गोलाघाट, जगतपुर, पटिहानी र माडी क्षेत्रमा हात्ती, गैँडा, बाघ तथा अन्य वन्यजन्तुको आक्रमण नयाँ विषय होइन । हरेक वर्ष घर भत्किन्छन्, बाली नष्ट हुन्छ, पशु चौपाया मारिन्छन् र कतिपय अवस्थामा मानिसले ज्यान गुमाउँछन् ।

स्थानीयको गुनासो छ – घटना भएपछि राहत घोषणा हुन्छ, क्षतिपूर्ति वितरण हुन्छ, बैठक बस्छ, सहमति हुन्छ; तर स्थायी समाधान कहिल्यै आउँदैन ।

आमा–छोराको मृत्युले आक्रोशित स्थानीयवासीले मृतकको शवसहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धर्ना दिए । अब सहानुभूति होइन, सुरक्षा चाहिन्छ भन्ने उनीहरूको माग सरल थियो ।

स्थानीयको प्रश्न थियो, “हरेक वर्ष नागरिक मर्नुपर्ने, अनि राज्यले राहत बाँडेर जिम्मेवारी पूरा भएको ठान्ने ?”

वडा अध्यक्ष दीपक दवाडीको नेतृत्वमा भएको दबाबपछि निकुञ्ज प्रशासन, नयाँ गोरखा गण, प्रहरी, मध्यवर्ती उपभोक्ता समिति तथा स्थानीय तहका प्रतिनिधिबीच छलफल भयो ।

छलफलपछि चारबुँदे सहमति भयो । सहमतिमा आक्रमणकारी हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत उपलब्ध गराउने, घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ । तर स्थानीयले यस्ता सहमति पहिले पनि पटक–पटक भएको स्मरण गराएका छन् ।

“सहमति नयाँ होइन, पीडा पनि नयाँ होइन,” एक स्थानीयले भने, “नयाँ भनेको केवल मृत्यु हुने परिवारको नाम हो।”  वन्यजन्तु संरक्षण आवश्यक छ । तर संरक्षणको मूल्य स्थानीय समुदायले मात्रै तिर्नुपर्ने अवस्था सिर्जना हुनु न्यायसंगत मानिँदैन ।

विशेषज्ञहरूका अनुसार हात्तीको आवतजावत हुने मार्ग पहिचान, विद्युतीय तारबारको प्रभावकारी व्यवस्थापन, प्रारम्भिक चेतावनी प्रणाली, जोखिमयुक्त बस्तीको सुरक्षा संरचना तथा पर्याप्त क्षतिपूर्ति प्रणाली लागू नगर्दासम्म यस्ता घटना दोहोरिइरहने सम्भावना रहन्छ ।

निकुञ्जको सफलताको मापन केवल बाघ र गैँडाको संख्या बढेर हुँदैन; निकुञ्ज वरपरका नागरिक कति सुरक्षित छन् भन्ने प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।

अशिका बोटे र उनका छोरा भरत अब फर्केर आउने छैनन् । तर उनीहरूको मृत्युले एउटा गम्भीर प्रश्न छोडेको छ- जंगली जनावरको संरक्षण गर्ने राज्यले आफ्नै नागरिकको जीवन संरक्षणको जिम्मेवारी कहिले पूरा गर्ने ?

जबसम्म यो प्रश्नको जवाफ व्यवहारमा देखिँदैन, तबसम्म बेलहट्टाजस्ता बस्तीमा रात परेपछि मानिसहरू निदाउने होइन, अर्को हात्ती कहिले आउला भन्ने त्रासमा बाँचिरहनेछन् ।


सम्बन्धित समाचार