Logo

२६ वैशाख,वीरगञ्ज । नेपालमा आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागु भने विसं २००९ वैशाख २६ गतेबाट भएको थियो ।

सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ । दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम हुँदैछ ।

यसैबीच सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानून दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश मार्फत उहाँले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताउनु भएको छ ।


सम्बन्धित समाचार