२२ असार, काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगीमा परेका पीडितहरूले पछिल्लो एक वर्षको अवधिमा ४३ करोड ४१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति रकम फिर्ता पाएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८२ साउन १ देखि २०८३ असार २० गतेसम्मको अवधिमा उक्त रकम पीडितहरूलाई उपलब्ध गराइएको हो । विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको नौ महिनामा ८८२ वटा मुद्दाबाट १२ करोड ६७ लाख ३९ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको थियो भने पछिल्लो तीन महिना अर्थात् २०८३ वैशाखयताको अवधिमा १,००४ वटा उजुरीमा मेलमिलाप गराई ३० करोड ७ लाख ४२ हजार ३०० रुपैयाँ पीडितलाई फिर्ता गरिएको छ ।
मुद्दा फछ्र्यौट र क्षतिपूर्ति भराउने दरमा क्रमशः २४१ दशमलव ५ प्रतिशत र ६७२ दशमलव ८ प्रतिशतको उल्लेख्य वृद्धि हुनुलाई विभागले आफ्नो कार्यसम्पादनमा आएको सुधारका रूपमा लिएको छ ।



















