Logo

२२ असार,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १०२ किलो ६३८ ग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार र चालकलाई नियन्त्रणमा लिइएको हो।

विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री सडक खण्डमा जानकीटोलाबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४ नम्बरको सेतो रंगको स्पोर्ट्स कारलाई शंकाको आधारमा रोकेको थियो।

प्रहरीले गरेको खानतलासीका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको १० वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, पश्चिम चम्पारण (बेतिया) नवलपुरका ३२ वर्षीय गुडु बर्मा रहेका छन्।

बरामद गाँजा, सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


सम्बन्धित समाचार