Logo

२६ वैशाख,बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २३ मा अवस्थित दुई विद्यालयको भवन निर्माण सम्पन्न हुनु अगावै छत चुहिन थालेको छ । मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १ करोड श्री नेपाल राष्ट्रिय प्रावि आधारभूत मिल्स एरियालाई ५० लाख र श्री आदर्श आधारभूत बेहेरा नहर क्यामको भवन निर्माणको लागि ५० लाख बजेट विनियोजन गरिएको हो ।

प्रदेश सरकारबाहेक श्री नेपाल राष्ट्रिय प्रावि आधारभूत भवन निर्माणको लागि जीतपुर सिमरा उपमहानगरले गत वर्ष ५५ लााख र चालु आवमा थप २० लाख बजेट विनियोजन गरेको छ ।तर यी दुवै भवन निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले विद्यालयमा गुणस्तरहीन निर्माण सामग्री प्रयोगले अनियमितता भएको प्रष्ट देखिने स्थानीयको आरोप छ ।

‘झ्याल, ढोकामा सालको काठ प्रयोग गर्नुपर्ने सबै कुकाठ हालेको छ । भर्खरै ढलान गरेको छत चुहिरहेको छ । ढोका भाँचिसकेको छ, झ्यालको रड बाहिर निस्किसकेको छ,’ स्थानीय युवा मोहमद् मुन्ताज अलि भन्छन्, ‘यस्तो भवनमा भोलि शिक्षक, विद्यार्थीहरु जुनसुकै बेला दुर्घटनामा पर्न सक्छन्, त्यसको जिम्मेवारी कसले लिने ?’

अर्का स्थानीय अनवर हुसेनले निर्माणाधीन विद्यालय भवनको निर्माणमा ठेकदारले चरम लापरबाही गरेको र स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको आरोप लगाए ।

विद्यालय भवन निर्माणमा लापरबाही गरेको, कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीयले केही दिनअघि प्रशासनमा उजुरी दिएपछि प्रहरीले रौतहट घर भएका ठेकदार मेराज आलमलाई इलाका प्रहरी कार्यालय सिमरामा थुनेको थियो । तर आगामी दिन राम्रो काम गर्ने सहमतिमा ४ घण्टामै छोडेको थियो ।

जीतपुर उपमहानगर–२३ का निवर्तमान वडाध्यक्ष अस्लम देवान ठेकदार र वडाध्यक्षको मिलेमतोमा विना सूचना आफू अनुकूलका गाउँका सिधासोझा महिलाहरुलाई उपभोक्ता समितिमा राखेर काम गरेको बताउँछन् । ‘उपभोक्ता समितिले यहाँ के काम भएको छ, कहिल्यै हेर्न आउँदैनन्, कमिसनको चक्करमा लापरबाही भइरहेको छ ।’

१२ कक्षासम्म पढाई हुने गरी ३ तले भवनको डीपीआर तयार गरिएको भएपनि कमजोर संरचना निर्माण भएका कारण दोस्रो तलासम्म थप्ने अवस्था नभएको स्थानीयहरुको भनाई छ ।

‘हाम्रो योजना गाउँमा नमुना विद्यालय भवन बनाउने र भोलिको दिनमा यसलाई इन्जिनियर क्याम्पस बनाउने भन्ने थियो । तर वडाध्यक्ष पनि कमिसनको खेलमा लागेर चासो नदेखाएपछि ठेकदारलाई झनै बल मिल्यो’ देवानले भने ।
विद्यालय भवनको जग उठाउने क्रममा २ नम्बरको इँटा प्रयोग भएको भन्दै यसअघि पनि स्थानीयले ठेकदारको कार्यशैलीको चर्को विरोध गरेका थिए ।

जीतपुर–२३ का वडाध्यक्ष मुस्तफिक अन्सारी पनि विद्यालय भवन निर्माणको क्रममा त्रुटि भएको स्विकार्छन् । ‘गल्ती भएको छ, म स्विकार्छु । अव नगरपालिकाको इन्जिनियर खटाएर के गर्न सकिन्छ सुधार गर्छौँ’ वडाध्यक्ष अन्सारीले भने, ‘तर मलाई आरोप लागेको जस्तो उपभोक्ता समिति र ठेकदारसँग एक रुपैयाँ खाएको छैन ।साभार रातोपाटी संवाददाता


सम्बन्धित समाचार