Logo

२३ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री डा. आरजु राणा देउवाका छोरा जयवीर देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

विभागले जयवीरलाई सात दिनभित्र अनुसन्धान अधिकृत समक्ष उपस्थित हुन पत्राचार गरेको हो । बूढानीलकण्ठस्थित देउवा निवासमा सम्पर्क नभएपछि विभागले राष्ट्रिय दैनिक गोरखापत्रमार्फत सार्वजनिक सूचना जारी गर्दै उपस्थित हुन निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार अनुसन्धानको सिलसिलामा बयानका लागि विभागले उनलाई बोलाएको हो ।

शंकास्पद आर्थिक कारोबार

विभाग स्रोतका अनुसार जयवीरको नाममा अस्वाभाविक सम्पत्ति आर्जन भएको र उनको कारोबारसमेत शंकास्पद देखिएकाले यो अनुसन्धानलाई विस्तृत तहमा पुर्‍याइएको छ । देउवा परिवारका सदस्यहरू यसअघि नै विभिन्न आर्थिक विवाद र अनियमितताका घटनाहरूमा जोडिँदै आएका थिए। विशेषगरी नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मतसम्भार सम्झौता (एएमसी) का नाममा भएको अनियमिततामा देउवा परिवारका सदस्यहरूको संलग्नता र दबाब रहेको आरोप छ ।

तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलको अडियो प्रकरण र सञ्चालक समिति पदाधिकारीहरूको भूमिकालाई लिएर यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

पासपोर्ट प्रकरण र जग्गा खरिदमा प्रश्न

जयवीर देउवाविरुद्धको अनुसन्धानको अर्को महत्त्वपूर्ण पाटो राहदानी (पासपोर्ट) खरिद प्रकरण हो । यस ठेक्का प्रक्रियामा सिद्धार्थ थापा र जयवीर देउवाको सक्रिय भूमिका रहेको भनी विभाग र अख्तियारमा उजुरी परेको थियो । यसबाहेक, छोटो अवधिमा देउवा परिवारले ७३ रोपनीभन्दा बढी जग्गा खरिद गरेको पाइएको र त्यसको स्रोत पुष्टि हुन नसक्नुलाई अनुसन्धानको मुख्य आधार बनाइएको छ ।

अख्तियारको चासो र विभागको सक्रियता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अन्य सम्बद्ध व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको जनाएको थियो । अख्तियारले कर्मचारीहरूलाई मुद्दा चलाउँदा सञ्चालक समितिका पदाधिकारीलाई उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने जयवीर देउवामाथिको अनुसन्धानलाई ‘प्रारम्भिक चरण पार गरेको’ भन्दै थप कडाइ गरेको छ ।

विभागले जयवीरको सम्पत्तिमा देखिएको अस्वाभाविक बढोत्तरी र विभिन्न विवादित ठेक्का प्रक्रियामा उनको संलग्नताको गहिराइमा पुगेर छानबिन गर्ने योजना बनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै