२४ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौँले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै १७ जनालाई दोषी ठहर गरेको छ। लामो समयदेखि चर्चामा रहेको यस प्रकरणमा अदालतले पूर्वमन्त्री तथा उच्च पदस्थ कर्मचारीसहितलाई कसुरदार ठहर गरेको हो। अदालतको फैसलाअनुसार यस प्रकरणमा ७ जना प्रतिवादीले भने सफाइ पाएका छन् ।
दोषी ठहर हुनेहरूमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृहसचिव टेकनारायण पाण्डे र कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय सचिव केशवप्रसाद दुलाल रहेका छन् । उनीहरूलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रलोभनमा पारी राज्यविरुद्धको कसुर गरेको ठहर गरिएको छ ।
यसैगरी, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पालाई पनि राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा दोषी ठहर गरिएको छ । शरणार्थी नेता टेकनाथ रिजालसमेत दोषी ठहर भएका छन् भने नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने राज्यविरुद्धको कसुरमा मतियारका रूपमा दोषी पाइएको छ । त्यसैगरी, हाइप्रोफाइल सेटिङ मिलाउने कार्यमा संलग्न रहेको आरोप लागेका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् । यद्यपि, झामाथि लगाइएको सरकारी लिखत कीर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरको दाबी भने अदालतले नपुग्ने फैसला गरेको छ।
अदालतले लिखित कीर्तेको कसुरमा भने टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारीलाई मात्र दोषी मानेको छ भने बाँकीले सो कसुरमा सफाइ पाएका छन्। त्यस्तै, संगठित अपराधको कसुरमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजित राई, गोबिन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी प्रमुख कसुरदारका रूपमा दोषी पाइएका छन् ।
अर्कोतर्फ, यस प्रकरणमा प्रतिवादी बनाइएका रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने अदालतबाट सफाइ पाएका छन् ।



















