२४ असार, वीरगञ्ज । आकासे पानीको पर्खाइ र मलको पिर छिचोल्दै यतिबेला मधेशका किसान धान रोपाइँमा व्यस्त त छन्, तर यो वर्ष उनीहरूमाथि खेतीको लागत खर्च (लगानी) को अर्को ठुलो भार थपिएको छ । डिजेलको मूल्यवृद्धिको बहानामा ट्याक्टरधनीहरूले मनपरी जोताइ शुल्क बढाउँदा र गाउँघरमा मजदुरको अभाव कारण मधेसका किसान यस वर्ष थप आर्थिक मारमा परेका हुन् ।
मधेशी किसानका अनुसार ट्याक्टरबाट खेत जोत्न अहिले प्रतिघण्टा २ हजार ५ सय रुपैयाँसम्म शुल्क बुझाउनुपरेको छ । गत वर्ष यही कामका लागि १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म मात्र तिरेका किसानले यस वर्ष प्रतिघण्टा झन्डै एक हजार रुपैयाँ बढी अतिरिक्त खर्च गर्न बाध्य भएका छन् ।
सरकारले एक साताअघि मात्र डिजेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँ कटौति गरे पनि ट्याक्टर व्यवसायीहरूले जोताइको पुरानै महँगो दर कायम राखेपछि किसानहरू ठगिएका छन् । धनुषा विदेह नगरपालिका–४ का किसान विपिन बिहारी यादव भन्छन्, “धान रोप्ने मुख्य समयमै ट्याक्टरको भाडा अचाक्ली महँगो बनाइयो, डिजेल सस्तिँदा पनि रेट घटाइएन । कृषि लागत यसरी बढेपछि हामीले कसरी जीविकोपार्जन गर्ने?”
विगत जस्तो गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएकाले पनि किसानहरू भिरालो जग्गाबाहेक सबै समथर खेतमा ट्याक्टरकै भर पर्नुपर्ने बाध्यता छ । जोताइ खर्च मात्र होइन, बजारमा रासायनिक मल, कीटनाशक विषादी र उन्नत बीउको मूल्यसमेत आकाशिएपछि खेती प्रणाली झन्झन् महँगो बन्दै गएको छ ।
कृषिमा यन्त्रको महँगी एकातिर छ भने अर्कोतिर परम्परागत श्रमका लागि मजदुरको हाहाकार छ । धनुषा, जनकपुरधाम उपमहानगरपालिका–२३ का किसान विलास साह भन्छन्, “खेतको आली–भित्तो खन्न, बीउ उखेल्न र रोप्न कामदार पाउनै मुस्किल छ । सबैतिर एकैपटक रोपाइँ सुरु भएकाले मजदुरको खोसाखोस छ।”
महोत्तरीका किसान विवेकानन्द ठाकुरका अनुसार गाउँका श्रमशील र लाठो उमेरका अधिकांश युवाहरू रोजगारीका लागि पञ्जाब, दिल्ली, मुम्बई तथा खाडी मुलुक (वैदेशिक रोजगारी) तर्फ पलायन भएकाले खेतबारी बाँझै राख्नुपर्ने वा बुढाबुढी र महिलाकै भरमा काम चलाउनुपर्ने अवस्था छ । सर्लाही सलेमपुरका किसान गगनदेव झाका अनुसार कतै मजदुर भेटिए पनि उनीहरूले अत्यधिक ज्याला माग्ने र समयमा काम नगरिदिने नयाँ समस्या देखिएको छ ।
मधेस प्रदेशका पूर्वकृषि प्रमुख ठाकुरनारायण ठाकुरका अनुसार वास्तविक किसानको पहुँचमा आधुनिक कृषि यन्त्र र प्रविधि पुग्न नसक्दा अझै पनि धेरै किसानहरू कष्टकर मजदुर प्रणालीकै भर पर्न बाध्य छन् । इन्धनको मूल्य उतारचढाव र बजारमा नियमन नहुँदा यस वर्ष धानसहित अन्य बालीको उत्पादन लागत अत्यधिक बढ्ने र यसले समग्र खाद्यान्न बजारलाई महँगो बनाउने उनको विश्लेषण छ ।
कृषि उत्पादन लागत लगातार बढ्दै जाँदा र कामदार अभाव चर्किँदै जाँदा मधेसका आम किसान कृषि पेशाबाटै पलायन हुने खतरा बढेको छ ।



















