Logo

२४ असार, रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विवाद हुँदा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ । जग्गाको विषयलाई लिएर दुई पक्षबिच भएको भनाभन र हात हालाहालको क्रममा चक्कु प्रहार हुँदा ६० वर्षीय बुटन साहको ज्यान गएको हो । घटनामा एक जना ८० वर्षीय वृद्ध समेत घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार मंगलबार राति करिब ८:१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका छोरीज्वाइँ बुटन साह तथा छिमेकी ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबिच विवाद सुरु भएको थियो ।

लामो समयदेखि चल्दै आएको जग्गाको किचलोका कारण सुरु भएको सामान्य भनाभन हेर्दाहेर्दै कुटाकुटमा परिणत भएको थियो । सोही क्रममा आक्रोशित बनेका २६ वर्षीय युवा राममहेश्वर साहले ६० वर्षीय बुटन साहमाथि चक्कु प्रहार गरेका थिए ।

प्रहरीका अनुसार चक्कु प्रहारबाट ढाडमा गम्भीर चोट लागेर रक्ताम्मे भएका बुटनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । तर, अत्यधिक रक्तस्रावका कारण उपचारकै क्रममा राति करिब ९:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

झडपका क्रममा राममहेश्वरका ससुराली बाजे ८० वर्षीय रामबहादुर साहको टाउकोमा समेत चोट लागेको छ । घाइते वृद्धको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै ईशनाथ र जिल्लाबाट खटिएको विशेष प्रहरी टोलीले हत्यामा संलग्न मुख्य आरोपी राममहेश्वर साह र झैझगडामा मतियार बनेका उनका बुबा रामऔतार साहलाई रातारात नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनास्थललाई सुरक्षित राखेर आवश्यक कानुनी र प्राविधिक प्रमाण सङ्कलन गरिसकेको जनाएको छ । पक्राउ परेका बाबु-छोराविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी घटना बारे थप सुक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।


सम्बन्धित समाचार