२३ असार, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र अब अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र कर्मचारीले आवागमनमा सहजता पाउने भएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले विशेष ह्विलचियर र सहजकर्ता सेवाको शुभारम्भ गरेका हुन् । यो सेवाको उद्घाटन गर्दै मुख्यसचिव अर्यालले सार्वजनिक सेवा लिन आउने नागरिक वा कार्यस्थलमा खटिने कर्मचारी कसैले पनि अब शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताए । साथै, सिंहदरबारका अधिकांश कार्यालयहरू अपाङ्गमैत्री बनिसकेको र बाँकी संरचनाहरू पनि चाँडै निर्माण गरिने जानकारी उनले दिए ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार, अब सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्याउन प्रत्येक ह्विलचियरका लागि एक जना तोकिएको कर्मचारीलाई ‘सहजकर्ता’ का रूपमा खटाइनेछ ।
सरकारले यो सेवालाई दीर्घकालीन रूपमा निरन्तरता दिने दृढ संकल्प लिएको छ र आगामी दिनमा यस्तो व्यवस्था देशभरका अन्य सरकारी निकायमा समेत विस्तार गर्ने तयारी गरेको छ ।



















