२४ असार,वीरगञ्ज । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत रक्सौलस्थित इन्डो–नेपाल मैत्री पुलबाट अवैध रूपमा नेपाल प्रवेश गर्न खोजिरहेका एक बंगलादेशी नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ।
मंगलबार राति नियमित गस्ती तथा सघन कागजात जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि एसएसबीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। जाँचका क्रममा उनीसँग बंगलादेशको राहदानी (पासपोर्ट) फेला परेपछि उनी बंगलादेशी नागरिक भएको पुष्टि भएको भारतीय सुरक्षा स्रोतले जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्ने व्यक्ति २७ वर्षीय एमडी शियाम हुसेन हुन्। उनी बंगलादेशको मुन्सीगञ्ज जिल्लाका निवासी रहेको बताइएको छ। उनीसँग रहेको पासपोर्ट सन् २०२० डिसेम्बर ८ मा ढाकाबाट जारी भएको र यसको म्याद सन् २०३० डिसेम्बर ७ सम्म कायम रहेको जनाइएको छ।
एसएसबीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उनले आफ्नो वास्तविक परिचय लुकाउने प्रयास गर्दै हिन्दु नाम प्रयोग गरेको खुलेको छ। साथै, भारतमा प्रवेशका लागि आवश्यक भिसा वा अन्य वैध कागजात उनीसँग नभएको सुरक्षा निकायले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उनी यसअघि पनि भारत–नेपाल सीमा क्षेत्रमा आवतजावत गरेको हुन सक्ने आशंका गरिएको भए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। सुरक्षा निकायले उनको मोबाइल फोन, यात्रा मार्ग, नेपालमा सम्भावित बसाइ, भारतमा रहेका सम्पर्क तथा नेपाल प्रवेशको उद्देश्यबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि एसएसबीले उनलाई हरैया थाना प्रहरीको जिम्मा लगाएको छ। प्रहरीले उनी वैध अनुमति बिना भारतमा कसरी बसिरहेका थिए, नेपाल प्रवेशको उद्देश्य के थियो तथा यस घटनामा कुनै संगठित नेटवर्कको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।
हरैया थाना प्रमुख किशन कुमारका अनुसार पक्राउ परेका व्यक्तिमाथि गहन सोधपुछ तथा आवश्यक कानुनी प्रक्रिया जारी छ।
हालका दिनहरूमा भारत–नेपाल सीमाबाट हुने अवैध प्रवेशका घटनामा वृद्धि हुन थालेपछि एसएसबीले सीमा क्षेत्रमा निगरानी, गस्ती तथा कागजात जाँचलाई थप कडाइ गरेको जनाएको छ।



















