Logo

२३ असार, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्धको अमेरिकी कारबाहीको पृष्ठभूमिमा नाटो सदस्य राष्ट्रका नेताहरू उच्चस्तरीय वार्ताका लागि अङ्कारामा भेला भएका छन् ।

शिखर सम्मेलनको मुख्य एजेन्डाका रूपमा रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता र युक्रेन युद्ध रहेका छन् । सम्मेलनको सुरुवातमा नाटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता अटल रहेको स्पष्ट पार्दै युरोपेली सदस्य राष्ट्र र क्यानाडालाई आफ्नो रक्षा खर्च बढाएर दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

विशेष गरी हर्मुज जलघाँटीमा भएको घटनापछि इरानमाथि गरिएको सैन्य कारबाहीका कारण यस क्षेत्रको सुरक्षा चासो शिखर सम्मेलनको केन्द्रमा रहेको छ ।

शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको सम्बन्धको प्रशंसा गर्दै टर्कीमाथिका प्रतिबन्ध हटाउने र एफ–३५ लडाकू विमान बिक्रीको सम्भावनाबारे सकारात्मक सङ्केत दिएका छन् ।

यद्यपि, केही सदस्य राष्ट्रले इरान सङ्कटमा पर्याप्त साथ नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पको दबाबका बीच युरोपेली सदस्य राष्ट्रहरूको रक्षा खर्च सन् २०२६ मा ११ प्रतिशतले वृद्धि भई ६३४ अर्ब डलर पुगेको छ, जसलाई महासचिव रुटले सहयोगी राष्ट्रहरूको सुरक्षा जिम्मेवारीमा भएको वृद्धिका रूपमा अथ्र्याएका छन् ।

सम्मेलनमा युक्रेन युद्धको समाधानबारे पनि गहन छलफल हुने अपेक्षा गरिएको छ । राष्ट्रपति ट्रम्पले युद्धरत पक्षहरूसँग वार्ताको माध्यमबाट समाधान खोज्न आफू तत्पर रहेको बताउँदै युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संवादको योजना बनाएका छन् । साथै, युरोपेली राष्ट्र र क्यानाडाले युक्रेनलाई आगामी दुई वर्षसम्म वार्षिक ७० अर्ब युरो बराबरको सैन्य सहायता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसबाहेक, ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल–सारासँग गर्ने भेटवार्तालाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण मानिएको छ भने डेनमार्कसँग ग्रिनल्यान्डको विषयमा पुरानो मतभेद पुनः सतहमा आएको छ ।


सम्बन्धित समाचार