२५ असार, काठमाडौं । शारजाहबाट कराँचीका लागि उडेको केटु एयरवेजको कार्गो विमान अरब सागरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
ओर्माराको तटबाट ५३ समुद्री माइल दक्षिणतर्फ उक्त बोइङ ७३७ विमानको भग्नावशेष फेला परेको पाकिस्तान विमानस्थल प्राधिकरण (पीएए) ले पुष्टि गरेको छ । विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिए पनि चालक दलका पाँचै जना सदस्यहरूको अवस्था भने अझै अज्ञात छ ।
प्राधिकरणका अनुसार, विमानमा पाइलट इन कमान्ड मोहम्मद रिजवान इद्रिस, प्रथम अधिकारी फैसल महमुद, लोड मास्टर मोहम्मद तौफिक खान तथा इन्जिनियरहरू आरिफ सिद्दीकी र मोहम्मद हमिद सवार थिए ।
उनीहरूको खोजीका लागि अहिले पाकिस्तानी नौसेना र वायुसेनाले संयुक्त रूपमा उद्धार अभियानलाई तीव्र पारेका छन् । समुद्री सुरक्षा बलसहितको टोलीले १२ घण्टा लामो खोजतलासपछि मात्र विमानको भग्नावशेष फेला पार्न सफल भएको हो ।
यसअघि मंगलबार राति ९ः१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी देखिएको जानकारी कराँची क्षेत्र नियन्त्रण केन्द्रलाई प्राप्त भएको थियो ।
राडारमा विमानको गति एक्कासि घटेको र दिशा परिवर्तन भएको देखिएको केही समयभित्रै, अर्थात् ९ः२१ बजेपछि विमानसँगको रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । कराँचीबाट १५५ समुद्री माइल पश्चिममा पुगेपछि सम्पर्कविहीन भएको उक्त विमानको खोजी कार्य अहिले पनि जारी छ ।



















