Logo

२५ असार,काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टलाई ऐतिहासिक सफलता दिलाएका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्मका लागि नवीकरण गरिएको छ।

इजिप्ट फुटबल संघ (ईएफए) ले बुधबार जारी गरेको विज्ञप्तिअनुसार संघका अध्यक्ष हानी अबो रिदाको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले मुख्य प्रशिक्षक होसाम हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय अनुमोदन गरेको हो।

कप्तान मोहम्मद सलाहको नेतृत्वमा इजिप्टले फिफा विश्वकप २०२६ मा पहिलो पटक अन्तिम–१६ (राउन्ड अफ १६) सम्मको यात्रा तय गर्दै नयाँ इतिहास रचेको थियो। सन् २०१८ पछि पहिलो पटक विश्वकप खेलेको इजिप्टले आफ्नो चौथो विश्वकप सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलमा नयाँ छाप छोड्न सफल भएको हो।

प्रि–क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाविरुद्ध इजिप्टले २–० को अग्रता बनाएर सबैलाई चकित पारेको थियो। तर अर्जेन्टिनाले १३ मिनेटभित्र लगातार तीन गोल गर्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्दै क्वार्टरफाइनल प्रवेश सुनिश्चित गरेको थियो।

५९ वर्षीय होसाम हसन फेब्रुअरी २०२४ मा इजिप्टको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा टोलीले सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एएफकन) को सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। उनले यस वर्षको फेब्रुअरीसम्म औपचारिक राष्ट्रिय सम्झौताबिनै टोली सम्हाल्दै आएको बताएका थिए।

होसामको नेतृत्वमा इजिप्टले विश्वकप समूह चरणमा न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै प्रतियोगिताको इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको थियो। त्यसपछि नकआउट चरणको पहिलो खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्टले विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जित्ने कीर्तिमान पनि बनाएको थियो।

विश्वकपमा प्राप्त ऐतिहासिक सफलतापछि इजिप्ट फुटबल संघले होसाम हसनप्रति विश्वास दोहोर्याउँदै उनको नेतृत्वमा टोलीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अघि बढाउने उद्देश्यसहित सन् २०३० सम्म सम्झौता नवीकरण गरेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै