Logo

२५ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वितरण गर्दै आएको लोककल्याणकारी सूचना अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि उपलब्ध गराउने निर्णय गरेको छ। आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले यसअघिको व्यवस्था संशोधन गर्दै साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरणका लागि आह्वान गर्ने निर्णय गरेसँगै स्थानीय सञ्चारमाध्यमका लागि नयाँ अवसर खुलेको हो।

यसअघि महानगरपालिकाले साप्ताहिक पत्रपत्रिकालाई सूचीकरण नगर्ने व्यवस्था गरेको थियो। त्यसका कारण स्थानीय साप्ताहिक सञ्चारमाध्यमहरू लोककल्याणकारी सूचना प्रकाशन गर्ने अधिकारबाट वञ्चित भएका थिए। नेपाल पत्रकार महासंघलगायत सञ्चार क्षेत्रका सरोकारवालाले उक्त व्यवस्था महानगरकै आमसञ्चारसम्बन्धी ऐन तथा प्रचलित कानुनी व्यवस्थाविपरीत रहेको भन्दै संशोधन गर्न निरन्तर माग गर्दै आएका थिए।

आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका संयोजक शत्रुधन नेपालको अध्यक्षतामा बसेको बैठकले अघिल्लो निर्णय परिमार्जन गर्दै स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरण प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो।

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले स्थानीय सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा महानगर सधैँ सकारात्मक रहेको बताए। उनका अनुसार सञ्चारमाध्यम लोकतन्त्र र सुशासनको महत्वपूर्ण आधार भएकाले कानुनले व्यवस्था गरेअनुसार सबै सञ्चारमाध्यमलाई समान अवसर उपलब्ध गराउने नीति महानगरले अवलम्बन गरेको छ।

“सञ्चारमाध्यम बलियो भए लोकतन्त्र र सुशासन पनि बलियो हुन्छ। त्यसैले महानगर स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सदैव प्रतिबद्ध छ। वीरगञ्ज महानगर सञ्चारमाध्यम प्रवर्द्धनसम्बन्धी कानुन बनाउने देशकै पहिलो पालिका हो। कानुनमा भएको व्यवस्थाअनुसार हामी सकारात्मक र रचनात्मक रूपमा अघि बढ्नेछौँ,” कार्यवाहक प्रमुख आलमले भने।

महानगरपालिकाको निर्णयसँगै वीरगञ्जबाट नियमित रूपमा प्रकाशन हुँदै आएका दर्जनौँ स्थानीय साप्ताहिक पत्रपत्रिका अब सूचीकरण प्रक्रियामा सहभागी हुन पाउने भएका छन्। यसबाट ती सञ्चारमाध्यम तथा तिनमा आबद्ध श्रमजीवी पत्रकार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

स्थानीय सञ्चारकर्मीहरूले महानगरपालिकाको निर्णयलाई स्थानीय सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि सकारात्मक तथा स्वागतयोग्य कदमका रूपमा लिएका छन्।


सम्बन्धित समाचार
भर्खरै