Logo

 २५ असार,काठमाडौं । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले फरार अभियुक्त फहाद मोहम्मद नुरलाई आफ्नो ‘मोस्ट वान्टेड फ्रडस्टर्स’ (सबैभन्दा खोजी गरिएका ठगी अभियुक्त) को सूचीमा समावेश गर्दै उनलाई पक्राउ गर्न वा दोषी ठहर गर्न सहयोग पुग्ने सूचना दिने व्यक्तिलाई १ लाख ५० हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।

एफबीआईका अनुसार नुरमाथि कोभिड–१९ महामारीका बेला मिनेसोटामा सञ्चालित सङ्घीय बाल पोषण कार्यक्रमको दुरुपयोग गरी लाखौँ डलर ठगी गरेको आरोप छ।

उनीविरुद्ध सन् २०२२ को सेप्टेम्बरमा वायर फ्रड (बैंकिङ ठगी), मनी लाउन्डरिङको षड्यन्त्र तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

अनुसन्धान प्रतिवेदनअनुसार नुरले ‘द प्रोड्युस’ नामक खाद्यान्न आपूर्ति तथा बिक्री गर्ने नक्कली कम्पनी सञ्चालन गर्दै बालबालिकालाई खाना वितरण गरेको झुटा विवरण र नक्कली बीजक (इनभोइस) पेस गरी ५० लाख डलरभन्दा बढी सङ्घीय रकम अवैध रूपमा प्राप्त गरेका थिए।

अधिकारीहरूका अनुसार यो प्रकरण महामारी राहत कोषसँग सम्बन्धित करिब २५ करोड डलरको ‘फिडिङ आवर फ्युचर’ ठगी काण्डको हिस्सा हो। उक्त प्रकरण सार्वजनिक हुनुअघि नै नुर सन् २०२२ को जनवरीमा अमेरिका छाडेर फरार भएका थिए।

त्यसपछि सन् २०२२ सेप्टेम्बर १३ मा मिनेसोटा जिल्लाको अमेरिकी अदालतले उनीविरुद्ध सङ्घीय पक्राउ पुर्जी जारी गरेको थियो।

एफबीआईले नुर प्राकृतिक रूपमा अंगीकृत अमेरिकी नागरिक भएको र उनको सोमालियासँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उनी हाल सोमालियामै लुकेर बसेको हुन सक्ने अनुमान गरेको छ।

एफबीआईले नुरको ठेगाना वा अवस्थिति सम्बन्धी प्रमाणित जानकारी हुने व्यक्तिलाई नजिकको एफबीआई कार्यालयमा सम्पर्क गर्न वा अनलाइनमार्फत सूचना उपलब्ध गराउन आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै