Logo

२५ असार, काठमाडौं । ट्राफिक नियम उल्लंघन गरी लामो समयसम्म जरिवाना नतिर्ने दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकहरूको सरकारी सेवा रोक्का गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको विवरणका आधारमा यातायात व्यवस्था कार्यालयले ती चालकहरूलाई प्रदान गरिने सेवामा रोक लगाएको हो । अबदेखि जरिवाना नतिर्ने चालकहरूले नयाँ सवारी खरिद गर्ने, सवारी नामसारी गर्ने, लाइसेन्स नवीकरण गर्ने लगायतका यातायात कार्यालयबाट पाइने कुनै पनि सेवा लिन पाउने छैनन् ।

प्रहरी उपरीक्षक तथा ट्राफिक कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, राज्यकोषमा दाखिला गर्न बाँकी रहेको जरिवाना रकम पूर्ण रूपमा भुक्तानी गरेपछि मात्र सम्बन्धित चालकले सेवा पुनः प्राप्त गर्न सक्नेछन् । सवारी सेवा लिनुअघि ट्राफिक जरिवाना चुक्ता गरेको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। जरिवाना बाँकी रहेका चालकहरूलाई जानकारी दिन प्रहरीले मोबाइल सन्देश (एसएमएस) पठाउने प्रक्रिया समेत थालिसकेको छ ।

ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास र सडक अनुशासन कायम राख्ने उद्देश्यले यो कडाइ गरिएको हो । जरिवाना नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गरी सडक सुरक्षालाई थप व्यवस्थित बनाउन यो कदम चालिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सम्पूर्ण चालकहरूलाई सडक अनुशासनको पूर्ण पालना गर्न र समयमै जरिवाना रकम दाखिला गरी सरकारी सेवाहरू निर्बाध रूपमा उपयोग गर्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै