Logo

२५ असार, काठमाडौं । प्रतिनिधिसभामा गत जेठ १७ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ समितिले उक्त घटनामा संसदीय मर्यादाको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकालेको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा संसद्को गरिमा जोगाउन सभामुख डोलप्रसाद अर्याललाई प्राप्त विशेषाधिकारको प्रभावकारी प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । सदनमा अमर्यादित र उत्तेजक शब्द प्रयोग रोक्न नियमावलीको कडा कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्ति अभिलेखबाट हटाउने वा बैठकबाट निष्कासन गर्नेसम्मका कारबाही गर्न समितिले सुझाएको छ ।

प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय उक्त समितिले घटनास्थलको मुचुल्का, श्रव्यदृश्य प्रमाण, प्रत्यक्षदर्शीको बयान र सम्बन्धित कागजातहरूको सूक्ष्म विश्लेषण गरी आफ्नो निष्कर्ष तयार पारेको हो ।

प्रतिवेदनले घटनामा संयमताको अभाव, नियमावली कार्यान्वयनमा देखिएको फितलोपन र व्यवस्थापकीय कमजोरीलाई मुख्य समस्याका रूपमा औंल्याएको छ । समितिले आचारसंहिताको पूर्ण परिपालना गराउन सांसदहरू स्वयं, सचिवालय र सभामुखले विशेष गम्भीरता अपनाउनुपर्नेमा जोड दिएको छ ।

संसदीय मर्यादालाई भविष्यमा थप सुदृढ बनाउन समितिले बृहत् सुधारका बुँदाहरू पनि अघि सारेको छ । जसमा सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम, दलीय नेतृत्व तथा सचेतकहरूको भूमिकालाई सक्रिय बनाउने, सुरक्षा र प्रविधि व्यवस्थापनमा सुधार, आचरण अनुगमन समितिलाई क्रियाशील राख्ने तथा सीसीटीभी निगरानीलाई थप व्यवस्थित गर्ने जस्ता सुझावहरू समेटिएका छन् । गत जेठ १८ गते गठन भएको यस समितिले आफ्नो प्रतिवेदन जेठ २५ गते नै सभामुखलाई बुझाइसकेको थियो ।


सम्बन्धित समाचार
भर्खरै