Logo

२७ वैशाख, सर्लाही । सर्लाहीको चुरे भेगका बस्तीका गाउँका धारा, कुवा र जरुवा सुकेसँगै खानेपानीको हाहाकार भएको छ । चुरे भेगमा पर्ने परवानीपुर, घारिबथान, पत्थरकोट, अत्रौली, ढुङ्ग्रेखोला, कर्मैया लगायत दर्जनौँ बस्तीमा खानेपानीको अभावले स्थानिय काकाकुल बनेका हुन् ।

हिजोआज खानेपानीका लागि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । धारा तथा कुवामा थोरै मात्रामा आउने पानी अपुग भएको स्थानीयवासीले गुनासो गरेका छन् । पछिल्लो वर्षयता खानेपानीको स्रोत निकै चाडोँ सुक्न थालेको स्थानीयवासीको भनाई छ । ईश्वरपुर नगरपालिका–१२, घारिबथानकी दिलमाया डिम्डोङले मानिस र बस्तुभाउ दुवैलाई पानीको अभाव भएको गुनासो गर्नुभयो ।

उहाँले गाउँको धारामा केहीबेर आउने पानीले सबैलाई नपुग्ने भन्दै थोरै मात्रामा आउने पानी थाप्न सधँै झगडा नै पर्ने गरेको बताउनुभयो । अहिले चुरे भेगका स्थानीय बासिन्दा खानेपानी लिन गाग्रो बोकेर एक गाउँबाट अर्को गाउँसम्म पुग्ने गरेका छन् ।

लालबन्दी नगरपालिका–१५, तल्लो देउरालीका अगुवा बाबुराम ठोकरले आफ्नो गाउँका स्थानीय बासिन्दा पानी लिनका लागि दैनिक जङ्गल छिचोलेर वडा नं. १५ को धुसेनीसम्म पुग्ने गरेको जानकारी दिनुभयो ।

चुरे भेगका प्रत्येक बस्तीमा अहिले खानेपानीका लागि यस्तै समस्या छ । त्यस्तै बागमती नगरपालिका–१ का वडाध्यक्ष गम्भिरसिंह पाख्रिनले खानेपानीको स्रोत सुकेपछि ट्याङ्करबाट पानी ओसारेर स्थानीयवासीलाई पानी खुवाइरहेको बताउनुभयो । पानीको अभावले चुरे क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र अन्य सरकारी कार्यालयसमेत प्रभावित भएका छन् ।


सम्बन्धित समाचार