२८ असार, काठमाडौं। प्राकृतिक विपत्तिको शृङ्खला खेपिरहेको चीनमा फेरि अर्को शक्तिशाली समुद्री आँधी’बावी’ भित्रिएको छ ।
शनिबार साँझ ताइझोउ सहरमा पहिलोपटक जमिनमा प्रहार (ल्यान्डफल) गरेको यो आँधी सोही रात वेन्झोउ सहरतर्फ अघि बढेको चिनियाँ मौसम विज्ञान अधिकारीहरूले जनाएका छन् ।झन्डै एक हजार किलोमिटरको विशाल क्षेत्रमा फैलिएको यस आँधीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले व्यापक पूर्वतयारी अपनाएको छ ।
सम्भावित खतराको क्षेत्रमा रहेका करिब २० लाख नागरिकलाई सुरक्षित स्थानमा सारिसकिएको छ, जसमध्ये झेजियाङ प्रान्तबाट मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ ।विपत्तिको यो आँधी चीन पुग्नुअघि नै विभिन्न देशमा आफ्नो विनाशकारी रूप देखाइसकेको छ ।
यसअघि फिलिपिन्समा यही आँधीका कारण निम्तिएको भीषण पहिरोमा परी कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने जापानका दुर्गम टापुहरू र उत्तरी ताइवानमा यसले भारी वर्षा गराउँदै ठुलो असर पुर्याएको थियो ।
यतिबेला आँधीको गति केही कमजोर बन्दै गएको देखिए पनि यसले बोकेको अत्यधिक आर्द्रताका कारण चिनियाँ भूभागमा अझै पनि भीषण वर्षा र बाढीको उच्च जोखिम कायमै रहेको मौसमविद्हरूको भनाइ छ ।विशेष गरी पूर्वी झेजियाङ र उत्तरपूर्वी फुजियान प्रान्तमा आइतबार भारी वर्षाको चेतावनी दिइएको छ भने सावधानीका लागि राजधानी बेइजिङबाट समेत एक लाख मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ ।
आँधीको प्रत्यक्ष प्रभावका कारण चीनको जनजीवन नराम्ररी प्रभावित भएको छ ।जोखिमयुक्त क्षेत्रका विद्यालय, व्यापारिक प्रतिष्ठान, कार्यालय र बाहिरी गतिविधिहरूमा पूर्ण रोक लगाइएको छ । यातायात सेवा ठप्प पार्दै करिब ४०० उडानहरू र कयौँ रेल सेवाहरू रद्द गरिएका छन् ।
चीनका लागि यो साता निकै कष्टकर बनेको छ, किनकि यसअघि भर्खरै आएको ‘मेसाक’ नामको अर्को ठुलो आँधीले ३९ जनाको ज्यान लिँदै व्यापक विनाश निम्त्याएको थियो ।
उक्त विनाशको घाउ निको हुन नपाउँदै भित्रिएको’बावी’ आँधीका कारण थप क्षति हुन नदिन अधिकारीहरूले उच्च सतर्कता अपनाउँदै खाली गरिएका बस्तीहरूमा कडा निगरानी राखिरहेका छन् ।



















