Logo

२८ असार माडी । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जङ्गली भाले हात्ती ‘ध्रुवे’ले भरतपुरमा दुई जनाको ज्यान लिएको केही दिनमै फेरि माडी नगरपालिका–१ बनकट्टामा प्रवेश गरी स्थानीयको घरमा भत्काएको छ। गएराति करिब १२.३० बजे ध्रुवेले स्थानीय दीपक बोटेको घर भत्काउन थालेपछि गाउँभर त्रास फैलिएको थियो। घरभित्र रहेका परिवारका सदस्य भने स्थानीयवासीको सक्रियताका कारण सकुशल जोगिएका छन्।

स्थानीय अजय बोटेका अनुसार ध्रुवे पहिलो पटक राति करिब १२ बजे बनकट्टास्थित बोटे टोलमा देखिएको थियो। स्थानीयले लखेटेपछि अँध्यारोमा हात्ती कता गयो भन्ने थाहा हुन सकेन। करिब आधा घण्टापछि भने त्यही हात्ती दीपक बोटेको घरमा पुगेर घर भत्काउन थालेको उनले बताए।

उनका अनुसार घरभित्र आमाबुवा र एक छोरा रहेका बेला हात्तीले घर भत्काउन थालेको थियो। परिवारले घरभित्रैबाट स्थानीयलाई खबर गरेपछि ट्र्याक्टरसहित पुगेका स्थानीयले ठूलो आवाज र उज्यालोको सहायताले हात्तीलाई पुनः जङ्गलतर्फ धपाएका थिए। त्यसपछि थप मानवीय क्षति हुनबाट जोगिएको उनले बताए।

अजय बोटे भन्छन्, “हामी जङ्गल र नदी किनारको बस्तीमा बस्छौँ। केही दिनअघि यही ध्रुवेले भरतपुर–२३ मा आशिका बोटे र चार वर्षीय भरत बोटेको ज्यान लियो। अहिले फेरि माडी आएर बोटेकै घरमा आक्रमण गरेको छ। हामी हरेक रात त्रासमा बाँचिरहेका छौँ। स्थानीय प्रशासनले हाम्रो जिउधनको सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्छ।”

ध्रुवेले असार २० गते राति भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। उक्त घटनापछि मन्त्रीदेखि निकुञ्ज प्रशासनसम्मको टोली घटनास्थल पुगेर जीपीएस निगरानी प्रभावकारी बनाउने, प्रतिबद्धता जनाएको थियो। तर केही दिनमै ध्रुवे फेरि बस्तीमा प्रवेश गरेपछि स्थानीयले ती प्रतिबद्धताको प्रभावकारितामाथि प्रश्न उठाउन थालेका छन्।

यस विषयमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन मगरसँग जङ्गली हात्तीले पटक–पटक मानवीय तथा भौतिक क्षति पुर्‍याउँदा पनि किन नियन्त्रण गरेर कान्जी हाउसमा राखिँदैन भन्ने प्रश्न गरिएको थियो।

उनले घरपालुवा र जङ्गली हात्तीको व्यवस्थापन फरक हुने भन्दै जङ्गली हात्तीलाई गाईभैँसी वा घरपालुवा हात्तीझैँ नियन्त्रण गर्न सम्भव नभएको बताए। उनका अनुसार यस्तो हात्तीलाई नियन्त्रण गर्न विशेष प्रविधि, दक्ष जनशक्ति र लामो तयारी आवश्यक पर्छ। निकुञ्जले रेडियो–कलर, प्राविधिक निगरानी र बस्तीबाट धपाउने कार्यलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।

निकुञ्जका अनुसार ध्रुवेको खोजी र निगरानीका लागि प्राविधिक टोली परिचालन गरिएको छ। तर पछिल्ला घटनाले रेडियो–कलर र निगरानी प्रणाली हुँदाहुँदै पनि हात्ती पटक–पटक बस्तीमा प्रवेश गर्न सफल भइरहेको देखाएको छ।

वि.सं. २०६६ सालदेखि आतंक मच्चाउँदै आएको ध्रुवेले हालसम्म २५ जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। वर्षौँदेखि नियन्त्रणका विभिन्न प्रयास गरिए पनि परिणाम प्रभावकारी हुन नसक्दा निकुञ्ज आसपासका बासिन्दा अझै असुरक्षित महसुस गरिरहेका छन्।


सम्बन्धित समाचार
भर्खरै