Logo

२८ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल यतिबेला सर्लाहीका एक २५ वर्षीय युवकको जीवन रक्षाको संघर्ष साक्षी बनिरहेको छ ।

सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे ।घरबाट मात्र दुई सय मिटरको दूरीमा घटेको यो आत्मघाती कदमपछि उनलाई गम्भीर अवस्थामा शुक्रबार साँझ साढे ७ बजे हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार विवेकको शरीर ८५ प्रतिशत जलिसकेको र अवस्था निकै चिन्ताजनक रहेकाले आज (आइतबार) उनको शल्यक्रिया गरिँदैछ ।

हाल उनलाई आईसीयूमा राखेर विशेष उपचार भइरहेको छ।यो घटना समाजमा बढ्दै गइरहेको चरम मानसिक तथा सामाजिक संकटको एउटा पाटो मात्र हो । विवेकको यो आत्मघाती प्रयासभन्दा ठीक एक दिन अघि अर्थात् बिहीबार मात्रै काठमाडौंको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि यस्तै आत्मघाती कदम चालेका थिए । दुर्भाग्यवश, वीर अस्पतालमा उपचारकै क्रममा शुक्रबार उनलाई मृत घोषणा गरियो । घटनाको यो दर्दनाक श्रृंखला यतिमै रोकिने संकेत देखिएनस शनिबार फेरि बुद्धनगरमा अर्का एक व्यक्तिले पनि आत्मदाहको प्रयास गरे ।

एकपछि अर्को गर्दै लगातार घटेका यी घटनाहरूले नेपाली समाजभित्र गुम्सिरहेको गम्भीर निराशा, आर्थिक–सामाजिक दबाब वा मानसिक छटपटीलाई उजागर गरेको छ ।जीवनलाई यसरी आगोको भुमरीमा होम्ने परिस्थिति किन र कसरी सिर्जना भइरहेको छ भन्नेबारे अब राज्य र समाज दुवैले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।


सम्बन्धित समाचार
भर्खरै