३० असार, सुनसरी । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गएराति नेपाल विद्युत् प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी मध्यराति दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको उक्त स्कारपियो गाडी सोमबार राति करिब ११ः३० बजे सेउती पुल नजिक दुर्घटनामा परेको थियो। तीव्र गति वा प्राविधिक कारणले गाडी अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा परी गाडी चालक धरान उपमहानगरपालिका–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए । दुर्घटनालगत्तै खटिएको प्रहरी टोली र स्थानीयले उनीहरूलाई उद्धार गरी तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए ।
तर, अस्पताल पुर्याएलगत्तै राति करिब १२ः४५ बजे चिकित्सकहरूले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी खड्काले जानकारी दिए ।
यस्तै, सोही दुर्घटनामा परी घाइते भएका धरान–२० का पवन राईको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप प्राविधिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



















