३१ असार, रौतहट । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिका–९ गमरिया टोल बस्ने २८ वर्षीय गौतम कुमार सहनीले मध्यराति आत्मघाती कदम चालेका हुन् ।
ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार सहनीले मंगलबार राति करिब १:०० बजे घरबाहिर पार्किङ गरी राखिएको आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरभरि खन्याएका थिए । त्यसलगत्तै उनले जिउमा आगो सल्काएपछि जलेर चिच्याएको सुनेर परिवारका सदस्य र छिमेकीहरूले तत्काल आगो निभाएका थिए ।
गम्भीर रूपमा झुलसिएका सहनीलाई राति नै स्थानीय बेटर नेपाल अस्पताल, गरुडा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचार गरिए पनि उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगोले सहनीको घाँटीमुनिको भाग र शरीरको करिब ३१.५ प्रतिशत हिस्सा जलेको छ । उनले के-कति कारणले मध्यराति यस्तो आत्मघाती बाटो रोजे भन्नेबारे स्पष्ट हुन सकेको छैन । पारिवारिक विवाद वा मानसिक तनावका कारण घटना भएको हुनसक्ने अनुमान गर्दै ईलाका प्रहरी कार्यालय गरुडाले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।



















