Logo

३१ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु गरेको बताउनु भएको छ ।

उहाँले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने समेत बताउनु भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिनुभयो ।

प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुन पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीलाई आग्रह गर्नुुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको समेत उपस्थिति रहेको छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्णसक्षम रहेको उहाँको भनाई छ ।

हाल वार्षिक १२ लाखमात्र पर्यटक भित्रिरहेको उल्लेख गर्दै व्यवसायीले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनु भयो ।

नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र क्रस–बोर्डर पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याउँदै उनीहरूले सरकार समक्ष केही नीतिगत माग प्रस्तुत गरेका छन् ।

हान पदाधिकारीले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह बिजुली महसुलमा सहुलियत दिन र साना तथा मझौला होटलका लागि २५ बेडसम्मको संक्षिप्त वातावरणीय मूल्यांकन अध्ययन अव्यावहारिक भएकाले त्यसलाई ५० बेडसम्म कायम गर्न माग गरेका छन्।

यसैगरी पोखरा र भैरहवा विमानस्थललाई पूर्णरूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा प्रविधि हस्तान्तरण अन्तर्गत ट्रेडमार्क प्रयोगको रोयल्टी वा शुल्कको रकम, प्रचलित करबाहेक कुल बिक्री मूल्यको ५ प्रतिशतभन्दा नबढ्ने भन्ने व्यवस्था संशोधन गरी आपसी समझदारीमा मूल्य कायम गर्ने व्यवस्था मिलाउन र होटल व्यवसायसँग सम्बन्धित अन्य कानुन संशोधन तथा पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

त्यस्तै डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाइदिन र आरोग्य पर्यटन प्रवर्द्धनका लागि फोटो–भिडियोमा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’ सहितको प्याकेज र विज्ञहरूको व्यवस्था गर्न समेत हानले सरकारसँग आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै