Logo

३१असार,ठोरी। पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको सुनाखरी उपभोक्ता समिति, सुवर्णपुरले तराई भू–परिधि तथा संरक्षण (TALCP) कार्यक्रमको सहयोग तथा सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुवर्णपुरसँगको सहकार्यमा बुधबार एक कार्यक्रममा ४१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।

सुनाखरी उपभोक्ता समितिको आयोजनामा ज्ञान वाटिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा समितिले अक्षयकोषमा रहेको रकमको ब्याजबाट प्रतिविद्यार्थी रु. १ हजार ५ सयका दरले पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।

यसबाट ज्ञान वाटिका मावि, सखुवाटी प्रावि, नेपाल राष्ट्रिय प्रावि बाघमोर्चा, बाल प्रतिभा प्रावि तथा शान्ति प्रावि चमरी मा अध्ययनरत जेहेन्दार तथा आवश्यकता भएका विपन्न र वन्यजन्तु प्रभावित क्षेत्रका ४१ जना विद्यार्थी लाभान्वित भएका छन्।

कार्यक्रममा समितिका अध्यक्ष भिमबहादुर पाख्रिनको सभापतित्व तथा ठोरी गाउँपालिका–५ का वडाध्यक्ष अष्टबहादुर लोप्चन को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य बिमल खड्का, कान्छीमाया लामा, सखुवाटी प्राथमिक विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठ तथा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बाघमोर्चाका प्रधानाध्यापक रञ्जित कार्की लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले छात्रवृत्तिले आर्थिक रूपमा विपन्न तथा मेहनती विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए। शिक्षा क्षेत्रमा सुनाखरीको छात्रवृत्ति वितरणको कार्यक्रमले विद्यालयमा विद्यार्थीको निरन्तरता र शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने उनीहरूको धारणा थियो।

समितिले यसअघि गत असार २ मा पनि ३० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको समितिको यो पहलले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको कार्यक्रमका सहभागीहरूले बताएका छन्। छात्रवृत्ति कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीको शिक्षामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार