३१ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा दुई वर्षको कारागार बसाइपछि सुन्धारा कारागारबाट रिहा भएका छन् ।
२०८१ असार १४ गते पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका झालाई जिल्ला अदालत काठमाडौँले मंगलबार ठगी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय तोकेको थियो । अदालतले तोकेको सजायभन्दा दोब्बर बढी समय उनी पहिले नै कैदमा बसिसकेकाले अदालतको आदेश र कारागारको प्रक्रिया पूरा गरी उनी बुधबार बाहिरिएका हुन् ।
अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार उनलाई रिहा गर्न मंगलबार राति नै कारागारमा पत्र पठाइएको थियो । कारागारमुक्त भए तापनि झाले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक प्रक्रिया पूरा गरी आजैबाट तारेखमा रहनुपर्नेछ । यसअघि यही प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई पनि यसै गरी कानुनी प्रक्रिया पूरा गरेर रिहा गरिएको थियो ।



















