Logo

२ साउन, काठमाडौँ । आम जनता पार्टी (आजपा) ले वर्तमान दुई तिहाइको सरकार चौतर्फी रूपमा असफल भएको निष्कर्ष निकालेको छ। राजनीतिक अस्थिरतालाई चिर्दै नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको गठबन्धनलाई झण्डै दुई तिहाइको बलियो जनमत दिँदा समेत सरकारले कुनै चमत्कार देखाउन नसकेको र उल्टै जनतामा चरम निराशा थुपारेको आजपाको ठहर छ।

नयाँ आर्थिक वर्षको पहिलो दिन प्रेस विज्ञप्ति जारी गर्दै आजपाका प्रवक्ता सुभाषप्रसाद साहले आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षासहित वर्तमान सरकारले देशलाई विकास र निकास दिन नसकेको आरोप लगाएका हुन्।

आजपाले गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गर्दै यस वर्षलाई इतिहासकै सबैभन्दा कमजोर वर्षको रूपमा चित्रण गरेको छ। शक्तिशाली सरकार हुँदा समेत कुल विकास बजेट जम्मा ४६ प्रतिशत मात्र खर्च भएको र राजस्व सङ्कलन लक्ष्यको ८४ प्रतिशतमा खुम्चिएको आजपाले जनाएको छ।

त्यसैगरी, वैदेशिक अनुदान सहायता ५८ प्रतिशत मात्र प्राप्त भएको र यही अवधिमा मुलुकमा करिब ३ खर्ब रुपैयाँभन्दा बढी ऋणको भार थपिएको विज्ञप्तिमा उल्लेख छ। वित्तीय कार्यसम्पादनका यस्ता निराशाजनक तथ्याङ्कले सरकारको आर्थिक व्यवस्थापन पूर्ण रूपमा असफल भएको पुष्टि गर्ने आजपाको दाबी छ।

बलियो सरकार बनेपछि बजार नियन्त्रण हुने जनअपेक्षा विपरीत राज्यको लुटकारी चरित्र झन् उदाङ्गो भएको आजपाको निष्कर्ष छ। बजार अनियन्त्रित हुँदा उपभोक्ता चरम मूल्यवृद्धिको मारमा परेको र भान्सा महँगो बन्दा आम सर्वसाधारणको जनजीवन नै कष्टकर बनेको प्रवक्ता साहले उल्लेख गरेका छन्। सरकारले विधि र कानुनलाई मिचेर बलपूर्वक शासन गर्ने शैली अपनाएका कारण अन्तर्राष्ट्रिय स्तरमा समेत मुलुकको साख गिरेको आजपाको आरोप छ।

विज्ञप्तिमा भनिएको छ, “२०८१ सालको फागुनदेखि नै नेपाल ‘ग्रे–लिस्ट’ (खैरो सूची) मा रहेकोमा वर्तमान सरकारको लाचारीका कारण उक्त सूचीबाट हट्नुको साटो उल्टै ‘ब्ल्याक लिस्ट’ (कालो सूची) मा पर्ने जोखिम बढेको छ।” सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को कालो सूचीमा पर्ने खतरा औंल्याउँदै आजपाले यसलाई सरकारको गम्भीर कूटनीतिक र आर्थिक असफलता भनेको छ।

सरकारले अर्थतन्त्रमा ठोस नीतिगत सुधार गर्नुको साटो राज्य आतङ्क सिर्जना गरेर समस्या थप्ने काम गरेको आरोप आजपाले लगाएको छ। सुशासनमार्फत उच्च व्यावसायिक आत्मविश्वास जगाउनुको साटो उच्चपदस्थ कर्मचारीहरूलाई बिनाकारण नियन्त्रणमा लिने, संवैधानिक पदाधिकारीहरूलाई डर र त्रासमा राख्ने तथा निजी क्षेत्रमाथि धरपकड गरिएकाले मुलुकको अर्थतन्त्र थप धरमराएको दाबी गरिएको छ।

वर्तमान सरकार गठन भएपछि लगानीको वातावरण बन्ने आशा निराशामा परिणत भएको उल्लेख गर्दै आजपाले सरकारले विकास कूटनीतिको दुहाई दिए पनि छिमेकी तथा वैदेशिक सम्बन्धमा गतिशीलता ल्याउनुको सट्टा उल्टै गतिरोधको अवस्था सिर्जना गरेको निष्कर्ष निकालेको छ।


सम्बन्धित समाचार
भर्खरै