१ साउन, चितवन । चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लैलै’ गीत शिक्षक समुदायको तीव्र विरोधपछि युट्युबबाट हटाइएको छ। गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसालाई अमर्यादित ढंगले चित्रण गरिएको भन्दै चौतर्फी आलोचना भएपछि चलचित्रकी निर्माता तथा अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापा ले सार्वजनिक रूपमा क्षमायाचना गरेका हुन्।
गीत सार्वजनिक भएलगत्तै नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संगठनले त्यसमा प्रयोग गरिएका शब्द, दृश्य र प्रस्तुतीकरणले शिक्षक पेसाको गरिमामाथि प्रहार गरेको आरोप लगाएका थिए। महासंघले गीत तत्काल हटाउन र सम्बन्धित पक्षसँग स्पष्टीकरण माग गर्दै औपचारिक रूपमा आपत्ति जनाएको थियो।
विवाद चर्किएपछि प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा शिक्षक समुदायको भावनामा चोट पुगेको महसुस भएको उल्लेख गर्दै आफू र चलचित्र निर्माण टोलीका तर्फबाट हृदयदेखि नै माफी मागेकी छन्।
उनले विवादित गीत चलचित्रको आधिकारिक गीत नभई केवल प्रचार–प्रसारका लागि गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको सामग्री मात्र भएको स्पष्ट पारेकी छन्। उनका अनुसार उक्त गीत चलचित्रको कथावस्तु वा दृश्यमा समावेश गरिएको छैन।
प्रियंकाले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा शिक्षक पेसाप्रति अनादर गर्ने वा नकारात्मक सन्देश दिने कुनै उद्देश्य नरहेको दाबी गर्दै प्रस्तुतीकरणका कारण उत्पन्न भएको असन्तुष्टिप्रति आत्मसमीक्षा गरिएको बताएकी छन्। साथै भविष्यमा सिर्जनात्मक सामग्री तयार गर्दा सामाजिक संवेदनशीलता र जिम्मेवारीलाई अझ बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
विवाद बढेसँगै सम्बन्धित टोलीले दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट ‘ताराबाजी लैलै’ गीत स्थायी रूपमा हटाएको छ। साथै गीतसँग सम्बन्धित प्रचार सामग्री पनि सामाजिक सञ्जालबाट हटाइएको जनाइएको छ।
गीत सार्वजनिक भएपछि देशभरका शिक्षक, शिक्षाविद् र सामाजिक सञ्जाल प्रयोगकर्ताले महिला शिक्षकको प्रस्तुतिशैली, प्रयोग गरिएका शब्द तथा दृश्यले शिक्षण पेसालाई हल्का ढंगले चित्रण गरेको भन्दै तीव्र आलोचना गरेका थिए। शिक्षक महासंघले यस्ता सामग्रीले शिक्षक–विद्यार्थी सम्बन्धमा नकारात्मक प्रभाव पार्ने र समाजमा गलत सन्देश प्रवाह गर्ने भन्दै कडा आपत्ति जनाएको थियो।
विवादपछि गीत हटाइए पनि यस घटनाले मनोरञ्जनका नाममा सार्वजनिक गरिने सामग्रीले समाजका सम्मानित पेसा र समुदायप्रति कति संवेदनशील हुनुपर्छ भन्ने विषयमा पुनः बहस सुरु गराएको छ।



















