Logo

१ साउन, चितवन । चितवनका तीन युवा पुस्तक व्यवसायीहरूले माडी प्रज्ञा प्रतिष्ठानको पुस्तकालय सञ्चालनको लागि करिब ५० हजार रुपैयाँ बराबरका २०० थान साहित्यिक पुस्तकहरू उपलब्ध गराएका छन्।

भरतपुरमा पुस्तक व्यवसाय सञ्चालन गर्दै आएका वीरबहादुर न्यौपाने, सन्तोष मजाकोटी र विनोद ढकालले सामाजिक उत्तरदायित्वअन्तर्गत माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटामार्फत पुस्तकहरू माडी प्रज्ञा प्रतिष्ठानलाई उपलब्ध गराएका हुन् ।

पुस्तकहरू ग्रहण गर्दै माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोले पुस्तक सहयोग गर्ने युवा व्यवसायीप्रति आभार व्यक्त गर्दै यस्ता पुस्तकले माडीमा पठन संस्कृतिको विकास, ज्ञानको विस्तार र नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले सहयोगस्वरूप प्राप्त सबै पुस्तक प्रतिष्ठानले सञ्चालन गरिरहेको पुस्तकालयमा राखिने जानकारी दिए। पुस्तकालय स्थानीय विद्यार्थी, साहित्यप्रेमी, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि अध्ययनको केन्द्रका रूपमा विकास गरिने उनको भनाइ थियो।

पुस्तक व्यवसायी वीरबहादुर न्यौपानेले निजी क्षेत्र र सामाजिक संस्थाबीचको सहकार्यबाट पठन संस्कृतिको विकास गर्न सकिने भएकाले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

पुस्तक हस्तान्तर कार्यक्रमा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल , माडी नगरपालिकाका सूचना अधिकारी एवं माडी प्रज्ञा प्रतिष्ठानका सचिव प्रविण भण्डारीलगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार