Logo

२ साउन, काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने प्रमुख लाइफलाइन भीमदत्त राजमार्गमा आज बिहान सवेरै एक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित तीन जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानस्थित राजमार्ग खण्डमा आज बिहान करिब २:०० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

जिप सडकबाट करिब ४०० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार मध्यरातिको समयमा सडकबाट जिप तल खसेकाले उद्धार कार्यमा केही समय लागेको थियो ।

दुर्घटनामा परी जिपमा सवार दार्चुलाकै मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल गम्भीर घाइते भएका छन्। यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी पनि दुर्घटनामा घाइते भएका छन् । घाइते तीनै जनालाई रातैभरि उद्धार गरी तत्कालै डडेल्धुरा अस्पताल पुर्‍याइएको र हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी चन्दले जानकारी दिए ।

अध्याँरो र घुम्ती सडकका कारण जिप अनियन्त्रित भएको हुनसक्ने अनुमान गरिए पनि दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे विस्तृत प्राविधिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै