२ साउन,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी मिल्समा स्थायी कर्मचारीको सेवा सुरक्षालाई लिएर विवाद चर्किएको छ। उद्योग व्यवस्थापनले स्थायी कर्मचारीलाई हटाएर करार प्रणाली लागू गर्ने तयारी गरेको आरोप लागेपछि श्रमिक संगठन आन्दोलनको तयारीमा जुटेको छ।
मिल्समा करिब दुई दशकदेखि सुरक्षा गार्डका रूपमा कार्यरत हरेन्द्र राउत अहिर र जौआद अन्सारीले आफूहरूलाई कुनै लिखित निर्णयबिना काममा उपस्थित हुन रोक लगाइएको बताएका छन्। उनीहरूका अनुसार व्यवस्थापनले स्थायी सेवाबाट राजीनामा दिन दबाब दिँदै करार सेवामा पुनः नियुक्ति लिन आग्रह गरेको छ, जुन श्रमिक अधिकारविपरीत भएको उनीहरूको दाबी छ।
प्रभावित कर्मचारीहरूले पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवले आफ्नो कार्यकालमा दुव्र्यवहार गरेको, अपशब्द प्रयोग गरेको तथा झुटा आरोप लगाएर कानुनी झमेलामा पार्ने प्रयास गरेको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार अदालतबाट सफाइ पाएपछि पनि काममा फर्कन नदिई स्थायी सेवाको हैसियत समाप्त गर्ने प्रयास गरिएको छ।
मिल्स युनियनका नेता सुरेश चौधरीले उद्योग व्यवस्थापनको कदमले श्रमिकहरूमा असुरक्षा र अन्योल सिर्जना गरेको बताए। उनले स्थायी कर्मचारीलाई विस्थापित गर्ने कुनै निर्णय गरिएको भए त्यससम्बन्धी आधिकारिक कागजात सार्वजनिक गर्न माग गर्दै हालसम्म व्यवस्थापनले कुनै लिखित जानकारी उपलब्ध नगराएको बताए।
उनका अनुसार आइतबार श्रमिक प्रतिनिधि र उद्योग व्यवस्थापनबीच वार्ता तय भएको छ। वार्ताबाट कर्मचारीको सेवा सुरक्षाको प्रत्याभूति नभए तथा प्रभावित दुवै कर्मचारीलाई पुनः काममा फर्काउने निर्णय नगरिए चरणबद्ध आन्दोलन घोषणा गरिने युनियनले चेतावनी दिएको छ।
श्रमिक पक्षका अनुसार पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवविरुद्ध पटक–पटक गुनासो परेपछि उनलाई जिम्मेवारीबाट हटाइएको थियो। तर कर्मचारीमाथिको व्यवहार र रोजगारीसम्बन्धी विवाद अझै समाधान हुन सकेको छैन।
उद्योग क्षेत्रमा स्थायी कर्मचारीलाई करार प्रणालीमार्फत प्रतिस्थापन गर्ने प्रयास भएको आरोप यसअघि पनि उठ्दै आएको भए पनि रिलायन्स चिनी मिल्समा देखिएको पछिल्लो विवादले श्रम सम्बन्ध, रोजगारीको सुरक्षा र औद्योगिक व्यवस्थापनप्रति पुनः प्रश्न खडा गरेको छ।
यस विषयमा उद्योग व्यवस्थापनसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म आधिकारिक धारणा प्राप्त हुन सकेको छैन।



















