२ साउन,वीरगञ्ज । पर्सा जिल्लाको थरुहट सडक खण्ड अन्तर्गत पर्ने दुईवटा नदीमा आएको बाढीका कारण विगत दुई–तीन दिनदेखि अवरुद्ध रहेको सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
अविरल वर्षासँगै पर्सागढी नगरपालिका वडा नं. ९ एकटाङ्गास्थित तिलावे नदी र पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ फरहदवास्थित भलुवाही नदीमा आएको बाढीका कारण थरुहटको यो मुख्य सडक खण्ड पूर्ण रूपमा ठप्प भएको थियो। बाढीको बहाव केही कम भएपछि आज बिहानदेखि मात्र यातायातका साधन चल्न थालेको स्थानीय बासिन्दा मुकेश यादवले जानकारी दिए।
झन्डै दुई दशकदेखि पुल अलपत्र, ठेकेदारको चरम लापरबाही
सडक खुलेर तत्कालका लागि राहत मिलेको जस्तो देखिए पनि यहाँका स्थानीयले विगत १८ वर्षदेखि पुल नहुँदा सास्ती खेप्दै आएका छन्। करिब साढे ५ करोड रुपैयाँको लागतमा एकटाङ्गास्थित तिलावे नदी र भलुवाही खोलामा पुल निर्माण गर्ने सम्झौता भएको झण्डै दुई दशक बितिसक्दा पनि काम अझै अधुरै छ।
तिलावे नदीको पुल निर्माणको जिम्मा पपु कन्स्ट्रक्सनले र भलुवाही खोलाको पुल निर्माणको जिम्मा वाई.पी. मोना कन्स्ट्रक्सनले लिएका थिए। ठेकेदार कम्पनीको चरम लापरबाही र स्थानीय स्तरबाट बेलैमा बलियो दबाब (खबरदारी) पुग्न नसक्दा ठेकेदारले आफ्नो मनोमानी ढंगले काम रोकेर राखेको स्थानीय तपसी राउत बताउँछन्।

जनप्रतिनिधि र सरोकारवाला निकाय कानमा तेल हालेर बस्दै
पुल निर्माण नहुँदा विशेषगरी वर्षायाममा स्थानीय बासिन्दाको आवतजावत कष्टकर बन्ने गरेको छ। तर, यति ठूलो समस्या हुँदा पनि स्थानीय जनप्रतिनिधि र राज्यका माथिल्ला निकाय यसप्रति उदासीन बनेको आरोप स्थानीयको छ।
स्थानीय रामगोपाल साहले आक्रोश पोख्दै भने, “पुलको दुरावस्थाबारे स्थानीय पालिका, प्रदेश सरकार र केन्द्रीय सांसदहरू कानमा तेल हालेर बसेका छन्। जनताले भोग्नुपरेको यति ठूलो समस्या समाधानका लागि सम्बन्धित कुनै पनि निकायले बलियो र ठोस पहल गरेका छैनन्।”
पुल नहुँदा वर्षाको समयमा विद्यालय जाने साना बालबालिका, आकस्मिक सेवाका एम्बुलेन्स, यात्रुवाहक बस तथा अन्य अति आवश्यक सवारी साधनहरू सञ्चालन हुन सकिरहेका छैनन्। जसका कारण बिरामीलाई समयमै अस्पताल पुर्याउन समेत निकै सास्ती खेप्नुपर्ने बाध्यता छ।
ठूला राजनीतिक दल र तिनका नेताहरूले चुनावका बेला विकासका ठूला आश्वासन बाँडे पनि वर्षौंदेखि अलपत्र परेका यी दुई पुल निर्माण सम्पन्न गराउन कसैले चासो नदेखाउँदा पर्साका यी दुई स्थानीय तहका हजारौँ नागरिक सधैँ जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।



















