२ साउन,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३१ स्थित सोलखपुर जंगल क्षेत्रबाट अवैध रूपमा कटान गरी लुकाइराखिएको सालको गोलिया काठ सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेलवा र सब–डिभिजन वन कार्यालय सबैयाको संयुक्त टोलीले बिहीबार अपराह्न जंगल क्षेत्रमा खोजतलास गर्ने क्रममा उक्त काठ फेला पारेको हो।
सशस्त्र प्रहरी नायब निरीक्षक नारायणप्रसाद अधिकारी र सब–डिभिजन वन कार्यालय सबैयाका रेञ्जर भुपाल रोकायको नेतृत्वमा खटिएको टोलीले जंगलको छेउमा लुकाइराखिएको अवस्थामा अन्दाजी २१ क्युबिक फिट सालको गोलिया काठ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।
बरामद गरिएको सालको गोलिया काठ आवश्यक कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान तथा थप अनुसन्धान भइरहेको जनाइएको छ।



















