Logo

२ साउन,काठमाडौं । भारतको निजी अन्तरिक्ष कम्पनी स्काईरूट एरोस्पेसले शनिबार देशकै पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफलतापूर्वक प्रक्षेपण गरेको छ।

हैदराबादमा आधारित स्काईरूट एरोस्पेसले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः०५ बजे रकेट प्रक्षेपण गरेको हो। यसअघि प्रक्षेपणको समय बिहान ११ः३० बजे तय गरिएको थियो।

प्रक्षेपणअघि उडान सुरु हुन करिब पाँच मिनेट बाँकी रहँदा काउन्टडाउन रोकिएको थियो। केही समयको प्राविधिक जाँचपछि प्रक्रिया पुनः सुरु गरिएको र रकेट सफलतापूर्वक उडान गरिएको जनाइएको छ।

समाचार संस्था पीटीआईका अनुसार उक्त परीक्षण उडानलाई ‘मिशन आगमन’ नाम दिइएको छ। यस मिशनअन्तर्गत विक्रम–१ रकेटले विभिन्न प्राविधिक परीक्षणका लागि तयार पारिएका पेलोडहरू बोकेर अन्तरिक्षतर्फ प्रस्थान गरेको हो।

रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र ‘कस्मिक ब्लूम’ नामक कलाकृति पनि लिएर गएको स्काईरूट एरोस्पेसले जनाएको छ।

स्काईरूट एरोस्पेसले यसअघि सन् २०२२ मा ‘विक्रम–एस’ नामक सबअर्बिटल रकेट प्रक्षेपण गरेको थियो। ‘विक्रम–१’ को सफल परीक्षणसँगै भारतको निजी अन्तरिक्ष क्षेत्रले नयाँ उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ।


सम्बन्धित समाचार